कम्युनिस्ट पार्टीले अङ्गीकार गर्ने अनुशासन सङ्गठनात्मक प्रणाली मात्र होइन, यसले विचारधारामा आधारित शक्तिशाली क्रान्तिकारी सङ्गठनको निर्माणमा महत्त्वपूर्ण भूमिका निभाउँछ। अनुशासनले पार्टीका सदस्यहरूलाई एकजुट बनाई राख्न र पार्टीको सिद्धान्त नीति र उद्देश्यमाथि दृढ विश्वास राख्न उत्प्रेरित गर्दछ। यो पार्टी सदस्यहरूको जीवन जगत् र व्यवहारसँग अन्तर सम्बन्धित विषय हो। पार्टीको सिद्धान्त र विचारधारालाई संगठानात्मक प्रणालीमा बाँधी राख्न अनुशासनको महत्त्वपूर्ण देन हुन्छ।
अनुशासन शब्दको उत्पत्ति
अनुशासन शब्द संस्कृतको “अनुशासन”बाट आएको हो, जसको अर्थ हुन्छ- कुनै विशेष कार्य वा व्यवहारको मार्गदर्शन र नियन्त्रण गर्नु। यसका दुई भागहरू छन्। “अनु”: जसको अर्थ “पछ्याउनु” वा “अनुगमन गर्नु” हुन्छ। “शासन”: जसको अर्थ “शासन” वा “नियन्त्रण” हुन्छ। यसरी, “अनुशासन” भन्नाले “नियन्त्रित तरिकाले अनुगमन गर्नु” अथवा “शासनको पालन गर्नु” भन्ने जनाउँछ। यसको व्यावहारिक अर्थले एक व्यक्ति वा समाजलाई नियम, कर्तव्य र नैतिक मूल्यहरूको पालना गर्न प्रेरित गर्दछ।
“अनुशासन” शब्दको उत्पत्ति र यसले मानव जीवनमा गर्ने सकारात्मक योगदानलाई बुझ्नका लागि यसको ऐतिहासिक, भाषिक र दार्शनिक पक्षलाई बुझ्न जरूरी छ। मानव विकास क्रम र राज्यको उत्पत्ति सँगै मानवीय जीवनमा असीमित इच्छा चाहना पुरा गर्ने र शक्ति प्राप्तिको लागि संघर्ष गर्ने इतिहासको नियति बन्यो। हत्या, हिंसा र पराजित शक्ति माथि गरिने अन्याय अत्याचार नियमित दिनचर्या बन्यो। यस्तो कहाली लाग्दो स्थितिको अन्त्य गर्न र मानव बीचमा शान्तिमैत्री, सद्भाव, आत्मसंयमता, स्व-नियत्रण गर्न र आफूलाई पनि निश्चित पद्धतिमा बाँधी राख्न राज्य सत्ताको जन्म भयो। समाजलाई व्यवस्थित गर्न अनुशासनको आवश्यकता भयो। त्यो समय देखि नै समाजमा अनुशासनको महत्त्व र आवश्यकता रह्यो।
अनुशासनको दार्शनिक पक्ष
नेपाल कम्युनिष्ट पार्टी एमालेका कार्यकर्ताले अनुशासन बारे जान्न आध्यात्मवादी चिन्तन र भौतिकवादी चिन्तन दुबैलाई अध्यायन गर्नुपर्छ । समाजको सांस्कृतिक, धार्मिक, आर्थिक र शैक्षिक अवस्थाको अनुशासनमा प्रतिबिम्ब हुन्छ। यसै आधारमा अनुशासनको महत्व र आवश्यकता बुझन पर्दछ। हिन्दु दर्शन, बुद्ध दर्शन र माक्र्सवाद लेलिनवाद माओ र जननेता मदन भण्डारी र नेकपा एमालेले अगाडि सारेका अनुशासनको दृष्टिकोणलाई तुलनात्मक अध्ययन गर्न जरूरी हुन्छ। आजको अनुशासन सम्बन्धि प्रश्नको हल यिनी दर्शनको आधारमा हुन्छ। जीवन र जगतलाई हेर्ने, सेवा गर्ने, जीवन उपयोगी भौतिकवादी दर्शनको छनौट गरी त्यसैसँग सम्बन्धित अनुशासनको मार्ग अबलम्बन गर्नुपर्छ।
हिन्दु दर्शनमा अनुशासनलाई केवल बाह्य नियम र नियन्त्रण मात्र होइन, यो एक आध्यात्मिक प्रक्रिया हो जसले आत्मज्ञान, समर्पण, निःस्वार्थ कर्म, र मानसिक शान्तिको प्राप्तिमा मद्दत गर्दछ । अनुशासनका विभिन्न पक्षहरू छन्, जसमा कर्म, ध्यान, भक्ति, मानसिक नियन्त्रण र स्वधर्म पालन जस्ता महत्वपूर्ण छन्। यी सबै अनुशासनका अभ्यासहरूले मानिसलाई आध्यत्मिक उन्नति र जीवनको उच्चतम उद्देश्य प्राप्त गर्न प्रेरित गर्दछन् भन्दछ।”
बुद्ध दर्शनमा अनुशासनः “बुद्ध धर्ममा शिलको पालनलाई जोड दिएको छ। यसले नैतिक आचार–व्यवहार र अनुशासनको अभ्यासलाई जनाउँछ जसले व्यक्तिगत र सामाजिक जीवनमा शान्ति, शुद्धता र समृद्धि ल्याउँछ। शिलको पालनले मानसिक शान्ति, आत्म-नियन्त्रण, र द्वेष–क्रोधबाट मुक्ति दिलाउन महत्वपूर्ण भूमिका खेल्दछ। यसैले, शिलको अभ्यास बुद्धका चार आर्य सत्य र अष्टांगिक मार्गका आधारहरूमा आधारित छ, जसले मानिसलाई निर्वाण (दुःखको समाप्ति) को मार्गमा प्रगति गर्न प्रेरित गर्छ।”
लेलिनवादी संगठनात्मक सिद्धान्तः आज सबै राजनीतिक पार्टीहरू विशेषत कम्युनिष्ट पार्टीको नीति र सिद्धान्त पालन गर्ने बाटो बनेको छ। कम्युनिष्ट पार्टीमा जनवादी केन्द्रियताका आधारमा निर्णयमा पुग्ने लोकतान्त्रिक पद्दति अबलम्बन गर्न प्रेरित गर्दछ। निर्णय पछि कार्यान्वयनको लागि केन्द्रियता लागु गरिन्छ र अनुशासन कडाइका साथ पालन गरिन्छ।
लेलिनवादी संगठनात्मक सिद्धान्तले जनवाद र केन्द्रीयताका विषयहरूको व्याख्या सहित कडाइका साथ कार्यान्वयनमा जोड दिन्छ । यसलाई कडा अनुशासनको रुपमा समेत हेर्ने गरिएको पाइन्छ। अत लेलिनले प्रतिपादन गरेको जनवादी केन्द्रीयताका सद्धान्तअनुसार निम्न कुराहरूलाई लेलिनवादी संगठनको सिद्धान्तको सारको रूपमा चर्चा गरिन्छ।
“व्यक्ति संगठनको अधिनस्थ हुन्छ। अल्पमत बहुमतको अधिनस्थ हुन्छ। तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छ पार्टीका सम्पूर्ण कमिटीहरु केन्द्रीय कमिटीको अधिनस्थ हुन्छ।केन्द्रीय समिति महाधिवेशनको अधिनस्थ हुन्छ। महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरुको अधिनस्थ हुन्छ।” माओको अनुशासनका तिन आठ नियमले आज पनि कम्युनिष्टपार्टीको आन्तरिक र बाह्य जीवनमा अनुशासन कायम गराऊन महत्वपूर्ण भूमिका खेलेका छन।
नेकपा (एमाले)ले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई अगिकार गरेको छ। प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने नीति लिएको पार्टी हुनाले अनुशासनको महत्व, अनुशासित कार्यकर्ता आबश्यकता हिजोको भन्दा आज झन् बढेको छ। अनुशासनले संगठित कार्यकर्तालाई पार्टी नीति, नेतृत्व र निर्णयको पालन गर्न सिकाउछ। राष्ट्रहित, लोकतन्त्र र जनजीविकाका पक्षमा पार्टीलाई एकीकृत, व्यवस्थित र संघर्षसिल बनाई लक्ष्य प्राप्ति गर्न लागि पर्छ। कार्यकर्ता नैतिक आचरण र जिम्मेवारी बोधका साथ परिचालित हुन जनआधारित अनुशासित कार्यकर्ता पार्टीको परिकल्पना गरेको छ। यसले देशमा परिवर्तन ल्याउनका साथै शान्ति, प्रगति र समृद्धिको दिशा सुनिश्चित गर्दछ। कम्युनिस्ट पार्टीको अनुशासन, यसको सिद्धान्त, उद्देश्य, कार्य शैली र अनुशासित नेताको चरित्रका बारेमा यो लेख मार्फत विस्तृत विश्लेषण गर्न जमर्को गरेको छ।
अनुशासनको उद्देश्य
कम्युनिस्ट पार्टीले अबल्मबन गरेको अनुशासनको मुख्य उद्देश्य पार्टीको सिद्धान्त, विचार र नीतिमा सबै कार्यकर्तालाई हिड्नु हो। पार्टीलाई एकताबद्ध राख्नु र पार्टीका दीर्घकालिक क्रान्तिकारी उद्देश्य प्राप्ति गर्नु हो।
पार्टीलाई घोषित विचार, सिद्धान्त अनुसार चलाउनुः माक्र्सवाद-लेलिनवादी र जबजको सिद्धान्त र राजनीतिक कार्यदिशालाई पुरा गर्न पार्टीको एकता र समन्वय कायम राख्नु। अनुशासासित कार्यकर्ता भएको पार्टीले कामको दौरानमा उत्पन्न हुने सबैखाले अन्तरबिरोधहरु हल गरी पार्टीलाई एकताबद्ध बनाई राख्न मद्दत गर्दछ। पार्टीका सदस्यहरूले आफ्ना कार्यहरू र विचारहरूलाई पार्टीको मातहात राख्छन्। पार्टीको भित्री एकता बलियो हुन्छ। एकता र समन्वय बिना, पार्टीका उद्देश्यको प्राप्ति कठिन हुन्छ । अनुशासनले यस उद्देश्यलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दछ।
क्रान्तिकारी विचारधाराको स्थायित्व र दिगोपनः कम्युनिस्ट पार्टीको मूल उद्देश्य समाजवादको स्थापना र समतामूलक समाजको निर्माण हो। यसका लागि पार्टीका सबै सदस्यहरूले पार्टीका सिद्धान्त र उद्देश्यप्रति प्रतिवद्धता हुनु पर्दछ। पार्टीका नीति, निर्णय र कार्यक्रमहरू क्रान्तिकारी दिशामा केन्द्रित रहनुपर्छ। अनुशासनले विचारमा कुनै पनि विचलन र भ्रमबाट बचाउँछ र विचारधारामा स्थिरता कायम राख्छ।
सार्वजनिक छवि र संगठनको प्रभावकारिताः पार्टीको अनुशासनले पार्टीको सार्वजनिक छविलाई बलियो बनाउँछ। यदि पार्टीका सदस्यहरूले पार्टीका नीतिहरू र निर्णयहरूको पालन गर्दैनन् भने,पार्टीको प्रभाव र छबि कमजोर हुन्छ, नैतिक चरित्र र जीवनशैली र आचरणलाई निर्देशित गर्छ। अनुशासनले पार्टीलाई व्यवस्थित र जिम्मेवार बनाउँछ, जसले जनतामा विश्वास र समर्थन बढाउँछ।
अनुशासन परिपालनको आवश्यकता
दशौं राष्ट्रिय महाधिवेशनले पार्टी भित्र उत्पन दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई पहिचान गर्यो यसलाई परास्त गर्न पार्टी नेता र कार्यकर्तालाई आह्वान गर्यो। गन्तव्यको रूपमा जबजको मार्ग दर्शनमा समाजबादमा पुग्ने संकल्प गरेको छ। तर पार्टी भित्र अझै दक्षिण पन्थ अवसरवाद, सांगठनिक अराजकता, पेटी बुर्जुवा चिन्तन व्यक्तिगत स्वार्थ, महत्वाकाक्षा कुण्ठा र अनुशासनहिनता प्रकट रूपमा देखापरिरहेको छ। यी प्रवृतिहरू, सल्लाह सुझाव र आलोचनाबाट नसुध्रिए पछि कारवाही गरिनु पर्ने बाध्यात्मक परिस्थिति उत्पन्न हुन्छ। अहिले हाम्रो पार्टी त्यही चरणबाट गुज्रेको छ। अहिलेको कारबाही दहमा ढुंगा हान्दा उत्पन्न हुने तरंग झै पार्टी बाहिर भित्र तरंगित भएको छ। कतिपय अवस्थामा कार्यकर्ता संवेदनशिल पनि भएका छन। पार्टी भित्र गलत गर्नेलाई लिपापोति गर्ने, बिभिन्न कारण संरक्षण गर्ने। उदारवादी शैली अपनाउदाको परिणाम अहिले कारबाही चर्चा र आलोचनको विषय बनेको छ। हाम्रो पार्टीको आन्तरिक विषयलाई अन्य पार्टीकाहरूलाई चिन्ता र चासो बनेको छ। किनभने यो पार्टीको नियमित प्रकृयालाई पार्टीको अनुशासन आयोग र कमिटी प्रणाली मार्फत गलत गर्ने बित्तिकै कारबाहीको बिषय नबनाईदाको परिणाम हो। कतिपय अबस्थामा पार्टी विरुद्ध गम्भीर घात गर्न कम्युनिष्ट आचरणमा नबस्नेले समेत उन्मुक्ति पाएका कारण यो बहस उत्पन्न भएको हो । यस विषयमा नेतृत्वको ध्यान जानु पर्छ। आउदा दिनमा राम्रो गर्नेलाई पुरस्कार नराम्रो गर्नेलाई दण्डको संस्कृतलाई संस्थागत गर्री पार्टीमा अनुशासनको परिपालन अनिवार्य छ।
कम्युनिस्ट पार्टीले अपनाएको अनुशासनको बिंधी भनेको पार्टी र कार्यकर्ताको प्राण हो । यी कार्यले पार्टीका उद्देश्य, सिद्धान्त र नीति र निर्णयलाई प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्दछ। पार्टीका कार्ययोजनाले पार्टीको संरचनामा स्थिरता, सगठन सुद्दृढिकरण, पार्टीमा एकता र समर्पण भाब राख्न मद्दत पुर्याउँछ। संगठनात्मक स्थिरता र सदस्यहरूको सामूहिक निर्णयले उत्पन्न शक्तिले पार्टीलाई एकताबद्ध र अनुशासित राख्छ। सदस्यहरूको सामूहिक शक्ति बढाउँछ। जब सदस्यहरू पार्टीका नियम र नीतिआधारित भएर काम गर्छन्, तब संगठनको संरचना बलियो बन्दछ। यसले पार्टीलाई दीर्घकालीन फाइदा हुन्छ। पार्टी संघर्षको हरेक मोर्चामा बिजय हुन्छ।
नेतृत्व र कार्यकर्ता बीचको सम्बन्ध सुद्दृढ अनुशासनले कार्यकर्ता र नेतृत्वका बीचको सम्बन्धलाई बलियो र सशक्त बनाउँछ। नेतृत्वले पार्टीका नीति र योजनाहरूलाई सही ढंगले प्रस्तुत गर्छ, र कार्यकर्ताहरूले त्यसको पालन गर्दा संगठनको एकता बलियो हुन्छ। यसले पार्टीका कार्ययोजना प्रभावकारी कार्यान्वयनमा योगदान पुर्याउँछ। समय र संशोधनको कुशल प्रयोग अनुशासनले पार्टीका कार्यहरूलाई समयमै र प्रभावकारी ढंगले सम्पन्न गर्न मद्दत गर्दछ। कार्यकर्ताहरू जिम्मेवार र व्यवस्थित तरिकामा काम गर्न प्रेरित हुनेछन्। पार्टीका कार्यहरूलाई कुशलतापूर्वक सम्पन्न गर्न मद्दत पुग्दछ। उपलब्ध संसाधनहरूको प्रभावकारी उपयोग गर्नाले समयमा कार्य सम्पादन भई उचित नतिजा प्राप्त हुनेछ।
अनुशासनको सिद्धान्त
पार्टी जनवादी केन्द्रियताको सिद्धान्तमा चल्छ। पार्टीको बिजय अनुशासित कार्यकर्ताको नेतृत्वले सम्भव हुन्छ।
जनबादी बहस र केन्द्रिकृत नेतृत्वः कम्युनिस्ट पार्टीमा अनुशासनको सिद्धान्तमा केन्द्रीय नेतृत्वको प्रमुख भूमिका हुन्छ। पार्टीका निर्णयहरू केन्द्रिय नेतृत्वबाट आउँछन्, जसका आधारमा सबै सदस्यहरूले प्राप्त निर्णयहरू र निर्देशनहरू पालन गर्नुपर्छ। यसले पार्टीको नीति र कार्ययोजन लागु गर्न र पार्टीको एकता बचाई राख्न मद्दत गर्दछ। निर्णयमा जनबाद र कार्यन्वयनमा केन्द्रियता लागु गर्नाले सबै सदस्यहरूमा विश्वासको बातबरण बन्छ।
सिद्धान्त र विचारधारामा प्रतिबद्धताः कम्युनिस्ट पार्टीको अनुशासनको अर्को महत्वपूर्ण विषय भनेको पार्टीका सिद्धान्त र विचारधारामा पूर्ण प्रतिवद्धता हो। पार्टीका सदस्यहरूले माक्र्सवाद, लेलिनवाद, जबजको सिद्धान्त महाधिवेशनको फैसला, कमिटीको निर्णय र निर्देशन लिएर अक्षरस पालन गरी लागु गर्नुपर्छ। सिद्धान्तका बारेमा अस्पष्टता वा विमति रहेमा, यो पार्टीको एकता र उद्देश्यमा विघटन ल्याउँछ। जसलाई रोक्न पार्टीका सदस्यहरूले विचारधारामा भएका असहमतिलाई पार्टीको निश्चित कमिटी प्रणालीबाट समाधान खोज्नु पर्छ।
संयमता र पार्टीका नियमहरूको पालनाः अनुशासन भनेको पार्टीका नियम, आदर्श र कार्यविधिहरूको पालन गर्नु हो। पार्टीका सदस्यहरूले कुनै पनि अवस्थामा व्यक्तिगत स्वार्थलाई परै राखेर पार्टीका निर्णय र योजनाहरूको पालन गर्नुपर्छ। आत्म–संयम्मता अनुशासनको ठूलो पक्ष हुन्छ। पार्टीका सदस्यहरूलाई कुनै न कुनै संगठनमा संगंठित गर्नुपर्छ। सदस्यहरूले आफ्नो जिम्मेवारीलाई अनुशासित ढंगबाट पालना गरिनु पर्छ।
अनुशासित नेताको चरित्र र गुणहरू
कम्युनिस्ट पार्टीमा अनुशासित नेता र कार्यकर्ता नैतिकवान सत चरित्र, विचार सिद्धान्तप्रति प्रतिवद्ध हुनुपर्छ । माक्र्सवाद–लेनिनवाद र जबजको सिद्धान्तमा आधारित पार्टी नेता केवल संगठनका प्रतिनिधि मात्र होइन, उनी क्रान्तिकारी आन्दोलनका मार्गदर्शक र विचारधाराका बाहक पनि हुन्। यसै कारण, कम्युनिस्ट पार्टीका अनुशासित नेता सम्बन्धित पार्टीको उद्देश्य र रणनीतिमा पुरा निष्ठा राख्ने र त्यसको कर्मठ पालक बन्नुपर्ने हुन्छ। एक अनुशासित नेतामा निम्न गुणहरू हुनुपर्छ।
विचारमा प्रतिबद्धः एक कम्युनिस्ट नेता माक्र्सवाद, लेनिनवाद र जबजको सिद्धान्तमा निष्ठा राख्नु पर्दछ। उनी पार्टीको आदर्श, सिद्धान्त र नीतिमा सधैं समर्पित र प्रतिवद्ध रहनुपर्दछ। नेता हरुमा विचारधारामा गहिरो ज्ञान र अध्ययनमा पोख्त हुनु पर्छ।
सिद्धान्त र व्यवहारमा समन्वयः कम्युनिस्ट नेता केवल सिद्धान्तमा मात्रै न अड्केर, व्यावहारिकता र जमीनमा आधारित हुनुपर्छ।
जमिन आधारित रणनीति र कार्यनीति अपनाउन जान्ने व्यक्ति हुनुपर्छ। उनलाई पार्टीका वर्तमान समस्याहरूको समाधान खोज्ने क्षमता हुनु पर्छ। क्रान्तिकारी प्रक्रियालाई सही दिशा दिन नेता व्यवहारिक दृष्टिकोण र सही रणनीति छनोट गर्न सक्षम हुनुपर्छ।
नैतिकता र इमानदारीताः नैतिकवान् र इमानदार दुर दृष्टि राख्न सक्ने हुनुपर्छ। कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता भ्रष्टाचार र अनैतिकताको विरोध गर्छ। आफूले सधैं सत्य र न्यायको पक्षमा इमानदार र पारदर्शी ढङ्गले काम गर्छ। उनको आचरण पार्टीका सदस्यहरूको लागि आदर्श बन्ने गर्छ। यसबाट समाजमा नेता प्रति विश्वास र इज्जत पैदा हुन्छ।
जनताको सेवामा समर्पित: एक अनुशासित कम्युनिस्ट नेता जनताको लागि काम गर्ने र उनीहरूको मुक्ति र विकासको लागि प्रतिबद्ध रहन्छ। उनी सामाजिक न्याय, समानता र श्रमिक वर्गको अधिकारको रक्षा गर्नको लागि निरन्तर प्रयासरत हुन्छन्। यो विशेषता केवल बोल्नमा होइन, व्यवहारमा पनि देखिन्छ।
अनुशासन र संगठनात्मक क्षमताः कम्युनिस्ट पार्टीका नेता अत्यन्त अनुशासित हुनुपर्छ। उनी पार्टीका नियम र योजनाहरूको पालना गर्छ, र संगठनको विभिन्न तहमा नियमित र प्रभावकारी सञ्चालन सुनिश्चित गर्नका लागि आफ्ना कर्तव्यंको पालन गर्छ। पार्टीको एकता र दृष्टिकोणको निरन्तरता राख्न उनी आफ्नो भूमिका र जिम्मेवारीमा समर्पित रहन्छन्।
कठोर परिश्रम र समर्पणः पार्टीका कार्यहरूमा परिश्रम र समर्पण आवश्यक छ। एक कम्युनिस्ट नेता रातदिन पार्टीको कार्यक्रम र योजनाको सफलता सुनिश्चित गर्न प्रयासरत रहन्छ। उसको काममा उत्कृष्टता र प्रतिवद्धता देखिन्छ, जसले अन्य सदस्यलाई पनि प्रेरित गर्छ।
सहिष्णुता र एकता: एक कम्युनिस्ट नेता समाजका विभिन्न जाति, धर्म र वर्गहरूको बीचमा एकता र सहिष्णुताको प्रवद्र्धन गर्नुपर्ने हुन्छ । पार्टीमा रहेका विविधता फरक विचारहरूको आदर गर्दै, सङ्गठनको एकता र सामूहिकताको बचाउ गर्छन्। उनको नेतृत्वमा विवाद र मतभेदलाई शान्तिपूर्ण र वैचारिक रूपमा समाधान गर्ने क्षमता हुन्छ।
क्रान्तिकारी दृष्टिकोण र सङ्घर्षशील योद्धा: कम्युनिस्ट पार्टीका अनुशासित नेता क्रान्तिकारी दृष्टिकोणमा अडिग रहन्छ। उनी सामाजिकविभेद र आर्थिक असमानता र साम्राज्यवादको विरोध गर्दै, श्रमिक वर्ग र पीडित वर्गका हकमा सङ्घर्ष गर्न तयार रहन्छ। उनले व्यवस्था परिवर्तनका लागि आवश्यक सङ्घर्ष र आन्दोलनहरूलाई नेतृत्व गर्नुपर्छ।
स्वतन्त्रता र आलोचनात्मक सोचः एक अनुशासित कम्युनिस्ट नेता आलोचना आत्मालोचना गर्न सक्ने। गल्ती स्वीकार गर्न र त्यसलाई सुधारको अवसरका रूपमा लिन सक्षम हुन्छ। उनी आलोचनात्मक सोचको महत्त्व बुझ्छन् र स्वतन्त्र विचारलाई प्रोत्साहित गर्छन् । यसले पार्टीलाई नयाँ दृष्टिकोण र समस्या समाधानको खोजी गर्न मद्दत पुर्याउँछ।
निष्कर्ष
कम्युनिस्ट पार्टीका अनुशासित नेता भनेको सिद्धान्त, निष्ठा, कार्यमा इमानदारी, सङ्गठनमा अनुशासन र जनताको सेवामा समर्पित व्यक्ति हो। यस्तो नेता पार्टीको विकास र प्रगतिको लागि मार्गदर्शकको भूमिका खेल्छ र समाजवादी उद्देश्यको प्राप्तिका लागि निरन्तर सङ्घर्षको नेतृत्व गर्छ। नीति,नेतृत्व, कमिटीको निर्णय र निर्देशनको पाल्न गर्दछ। सत चरित्र, उच्च नैतिक आचरण सङ्घर्षको बलले सामाजिक न्याय स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्छ। पार्टीका उद्देश्य प्राप्ति र भविष्यको सफलतामा योगदान पुर्याउँछ।
(लेखक पूर्वमन्त्री पोखरेल नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा काठमाडौं इन्चार्ज हुनुहुन्छ।)
प्रतिक्रिया