अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

द नेशनल इन्स्योरेन्स डिस्कोर्सको दोस्रो संस्करण पुस २५ गते हुँदै

द नेशनल इन्स्योरेन्स डिस्कोर्सको दोस्रो संस्करण पुस २५ गते हुँदै


काठमाडौं- बैंकिङ्ग समाचार डटकम र बीमा प्राधिकरणको संयुक्त आयोजनामा ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’को दोस्रो संस्करण हुने भएको छ। दोस्रो संस्करणको ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’ कार्यक्रम काठमाडौंको मेरियट होटलमा २०८१ पुस २५ गते दिउँसो १२:३० बजेदेखि शुरु हुने भएको हो। 

‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स-२०२५’ को उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नुहुने बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले जानकारी दिनुभयो। साथै, बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाल पनि उद्घाटन कार्यक्रममा आउनुहुने प्रबन्ध निर्देशक ढुंगेलले बताउनुभयो।

विशेषगरी ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’मा मुख्य ४ सत्रमा छलफल हुने प्रबन्ध निर्देशक ढुंगेलले बताउनुभयो। उहाँले जीवन बीमा, निर्जीवन बीमा, पुर्नबीमा र बीमा क्षेत्रमा प्रविधिको प्रयोगसँग सम्बन्धित विषयमा छलफल हुने बताउनुभयो। उहाँले भन्नुभयो, ‘डिस्कोर्समा विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत, बीमा प्राधिकरण र अर्थमन्त्रालयका प्रतिनिधिहरुको सहभागिता साथै विभिन्न बीमा विज्ञहरुको समेत उपस्थिति रहनेछ। यसैगरी, भारतबाट दुईजना बीमा विज्ञ समेत डिस्कोर्शमा आउनु हुनेछ।’

डिस्कोर्समा बीमा क्षेत्रको समस्या पहिचान गर्दै शतप्रतिशत जनसङ्ख्यामा यसको पहुँच विस्तार गर्ने सम्भाव्यताको खोजी हुने प्रबन्ध निर्देशक ढुंगेलले बताउनु भयो।

यस्तै, नियामकीय निकायबाट भइरहेका कमीकमजोरी, गर्नुपर्ने सुधार र नीतिगत झन्झट लगायतका विषयमा समेत डिस्कोर्समा छलफल हुने आयोजकले जनाएको छ।

देशको बीमा उद्योगको महत्त्व र आवश्यकतामाथि बृहत् रूपमा बहस गर्ने थलोका रुपमा रहेको इन्स्योरेन्स डिस्कोर्सको पहिलो संस्करण २०८० भदौमा सम्पन्न भएको थियो।

कार्यक्रमका लागि भारतबाट पुर्नबीमा विज्ञ आत्मराम चेरुभु र पोलिसि बजार डटकमका बीमा विज्ञ अमन ढलको समेत सहभागिता रहनेछ। कार्यक्रमको अन्त्यमा पूर्व अर्थमन्त्री डा. प्रकाशसरण महतसँग सत्रमा उठेका विषयमा ‘डुओलग’ समेत हुनेछ। कार्यक्रम सम्पन्न भएपछि कार्यक्रम अवधिभर उठेका विषयहरु, उद्योगका समस्या, नीतिगत झन्झट लगायतका विषय समेटेर प्रतिवेदन बन्नेछ। र, सो प्रतिवेदन अर्थमन्त्रालय र बीमा प्राधिकरण लगायत विभिन्न सरोकारवाला निकायमा पेश हुनेछ।

आयोजक बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक ढुंगेलले देशमा बीमा उद्योगको प्रवर्द्धन र विकासका लागि यस खालको डिस्कोर्श आयोजना गरेको बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्रमा प्रत्यक्षरुपमा ७ प्रतिशतभन्दा बढीको योगदान र प्रत्यक्ष तथा अप्रत्यक्ष गरी लाखौँलाई रोजगारी दिएको क्षेत्रको दिगो विकास र स्थायित्व नै कार्यक्रम आयोजनाको मूल उद्देश्य भएको समेत बताउनुभयो।