काठमाडौं-बैंकिङ्ग समाचार डटकम र बीमा प्राधिकरणको संयुक्त आयोजनामा हुने दोस्रो संस्करणको ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श-२०२५’ को उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नुहुने भएको छ।
रिलायबल लाइफको मुख्य प्रायोजन रहेको काठमाडौंको मेरियट होटलमा २०८१ पुस २५ गते दिउँसो १२:३० बजेदेखि शुरु हुने उक्त डिस्कोर्शको उद्घाटन अर्थमन्त्री पौडेलले गर्नुहुने भएको हो।
विशेषगरी ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’मा मुख्य ४ सत्रमा छलफल हुनेछ। जीवन बीमा, निर्जीवन बीमा, पुर्नबीमा र बीमा क्षेत्रमा प्रविधिको प्रयोगसँग सम्बन्धि विषयमा हुने छन्। ती सत्रमा विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत, बीमा प्राधिकरण र अर्थमन्त्रालयका प्रतिनिधहरुको सहभागिता साथै विभिन्न बीमा विज्ञहरुको समेत उपस्थिति रहनेछ। यसैगरी, भारतबाट दुईजना बीमा विज्ञ समेत डिस्कोर्शमा आउनु हुने आयोजकले जनाएको छ।
देशको बीमा उद्योगको दिगो विकास, स्थायित्व र प्रबद्र्धन तथा ग्रामीण तहसम्म पहुँच विस्तारमा सकरात्मक भूमिका खेल्ने लक्ष्यसहित बैंकिङ्ग समाचारले २०८० सालदेखि इन्स्योरेन्स डिस्कोर्श आयोजना गर्दै आइरहेको छ। यसअघि बैंकिङ्ग समाचारले २०८० को भदौ १८ गते काठमाडौंको सोल्टी होटलमा डिस्कोर्श सम्पन्न भएको थियो।
डिस्कोर्शका क्रममा नेपालमा जीवन र निर्जीवन बीमा कम्पनीहरुले भोग्दै आइरहेको समस्या र चूनौतीका विषयमा गहन छलफल गरेको थियो। यस्तै, लक्ष्यबमोजिम बीमाको विस्तार हुन नसक्नुको कारण खोजी भएको थियो भने भावी दिनमा बीमाको पहुँच र व्यवसाय विस्तारमा सरोकारवाला निकायले खेल्नुपर्ने भूमिकाको विषयमा बृहत् छलफल भएको थियो ।
डिस्कोर्शको छलफलबाट निस्केको निष्कर्षलाई प्रतिवेदनकारुपमा तयार पार्दै आयोजक बैंकिङ्ग समाचारले अर्थमन्त्रालय र बीमा प्राधिकरणमा बुझाएको थियो। कार्यक्रम आयोजना गरेर दस्ताबेजका रुपमा प्रतिवेदन तयार पार्दै सरकारी निकायलाई बुझाउँदा भावी दिनमा नीति-निर्माण र व्यवसायको दिगो प्रबद्र्धन तथा विकासमा महत्वपूर्ण सहयोग पुग्ने सम्बन्धीत निकायले बताएको थियो।
प्रतिक्रिया