अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी संस्थामा देखिएका बेथिति नियन्त्रण गर्नका लागि सरकार लागिपरेको छ: महेश बस्नेत

सहकारी संस्थामा देखिएका बेथिति नियन्त्रण गर्नका लागि सरकार लागिपरेको छ: महेश बस्नेत


काठमाडौं-नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सहकारी संस्थामा देखिएका बेथिति नियन्त्रण गर्नका लागि वर्तमान सरकार लागिपरेको बताउनुभएको छ। 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा हिजोदेखि सुरू भएको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दै सहकारीको समस्या समाधान गर्नका लागि ४ स्टेपमा काम भइरहेको बताउनु भएको थियो।

सहकारी बेथितिका विषयमा सरकारले चार हिसाबले काम गरिरहेको नेता बस्नेतले बताउनुभयो। नेता बस्नेतले भन्नुभयो, ‘अनियमिततामा संलग्नहरूलाई बिना मोलाहिजा कारबाही गर्ने, बचतकर्ताहरूको रकम फिर्ता गराउने, सहकारी क्षेत्रको प्रभावकारी नियमन गर्न अधिकार सम्पन्न प्राधिकरण गठन गर्ने र भविष्यमा बचतकर्ताहरूको रकम संरक्षणका लागि संरक्षण कोष निर्माण गर्ने ।’

नेता बस्नेतले अहिले देशमा सहकारी ठगी प्रकरणले लाखौं नेपालीहरुलाई पीडित बनाएको बताउनुभयो। उहाँले सहकारीमा रहेको जनताको बचत रकम फिर्ता गर्नुपर्ने बताउनु भयो। नेता बस्नेत भन्नुहुन्छ, ‘अहिले देशमा सहकारी ठगी प्रकरणले लाखौं नेपालीहरुलाई पीडित बनाएको छ। जनताको निक्षेप सिमित ब्यक्तिले अपचलन गरेको देखिन्छ। सहकारीमा रहेको जनताको बचत रकम फिर्ता गर्नै पर्दछ।’

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली द्वारा प्रस्तुत प्रतिवेदनमा सहकारीको वचत रकम हिनामिना बारे यस्तो विवरण उल्लेख छ– ‘सहकारीमा वचत हिनामिना गर्ने भनी किटानी भएका ५ सय भन्दा बढी व्यक्तिहरु थुनामा परेका छन् । एक हजार भन्दा बढी व्यक्तिहरुलाई मुद्दा चलाइएको छ। हालसम्म सरकारले समस्याग्रस्त घोषणा गरेका २२ वटा सहकारीहरु (६९ हजार वचतकर्ता) मध्येबाट तीनवटा सहकारीका ६ हजार वचतकर्ताको पूर्ण (करीब १ अर्व ५५ करोड रुपैयाँ) रकम फिर्ता गरी हिसावकिताव राफसाफ गरिएको छ भने अन्य सहकारीका करीब ८ हजार वचतकर्ताहरुको ७० प्रतिशत र २ हजारजतिको ५० प्रतिशत वचत फिर्ता भएको छ । यस कामलाई अझ तीब्रता दिंदै साना वचतकर्ताहरुलाई प्राथमिकतामा राखेर सम्पूर्ण वचतकर्ताहरुको रकम फिर्ता गराउन सरकारले प्रभावकारी कदम चालेको छ।’

प्रधानमन्त्री ओलीले एमाले केन्द्रीय कमिटी बैठकमा प्रतिवेदनमा सो विषयलाई गम्भिरताका साथ उठाइएको उल्लेख गर्नुभएको छ।