काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आठौं बैठक २०८१ पुस २१-२२, ललितपुरका निर्धारित थियो। प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि उपस्थित केन्द्रीय सदस्यहरूले आफ्नो तर्फबाट राय/सुझाव राख्ने कारणले एक दिन अरू लम्बियो र आजको लागि अर्को एउटा दिन थपियो।
निर्णय प्रक्रियामा सहभागितासहितको बैठक
एमालेविरूद्ध जुर्मुराएको अराजक एउटा झुण्डले एमालेमा सामुहिकता छैन, व्यक्ति केन्द्रीत स्वार्थकेन्द्रहरू निर्णायक छन्, एमालेको राजनीतिक सांगठनात्मक जीवनमा जनवाद छैन, जनवादको प्रयोग र अभ्यास हुँदैन, केन्द्रीयता मात्र लादिन्छ भनेर मिथ्या प्रचारको स्यालहुँइयालाई यसपटक सम्पन्न बैठकले केस्रा–केस्रा बनाएर चिरेको छ। एमालेमा बोल्न पाइँदैन, आन्तरिक लोकतन्त्र छैनजस्ता स्वरहरूलाई निस्तेज गरेको छ।
सार्वजनिक रूपमा बोल्नु पर्दा पार्टी नीति र निर्णयको पक्षमा बोल्ने, पार्टी हितको पक्षमा बोल्ने, पार्टीले अपनत्व लिनुपर्ने विषयमा जनमत आकर्षित गर्ने उद्देश्यका साथ बोल्ने, पार्टी नेतृत्वलाई स्थापित गर्ने अर्थमा बोल्ने र पार्टीको दैनन्दिन जीवनका बारेमा बोल्नुपर्ने भए पार्टीविरूद्ध एकाकारित शक्तिसामु हायहाय कमाउन र क्षणभर रमाउन सार्वजनिक खपतका हिसावले नबोल्ने, पार्टीले उपलब्ध गराएको फोरममा मात्र बोल्ने, अनुशासन र आचरणमा आधारित रहँदै बोल्ने, आफ्नो पदीय जिम्मेवारी र मर्यादित ढंगले बोल्ने विषयमा कसिलो लगाम लगाएको छ।
यसको अभ्यासस्वरूप सम्पन्न बैठकमा बोल्नुहुने केन्द्रीय सदस्यहरूबाट प्राप्त राय/सुझावले अत्यन्तै सुक्ष्म शोध, खोज र अध्ययन-अनुसन्धानको प्रतिफलस्वरूप विकसित अध्यक्ष कमरेडको अनुसूचिसहितको ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सर्वपक्षीय महत्त्वको दस्तावेज बनेको छ। पठनीय छ, मननीय छ र सुन्दर दस्तावेजीय संग्रहको रूपमा सार्वजनिक भएको छ।
अरू धेरै विषयवस्तुहरू असाधारण महत्त्वका छन्। तथापि, यो गहकिलो दस्तावेजमा आधारभूत समुदायका सरोकारका विषयको उठान, देशले विकास-निर्माणको क्षेत्रमा युगीन फड्को मार्ने कार्ययोजना, प्रविधिमैत्री समुन्नत समाजको परिकल्पना, क्षेत्रीय शक्ति सन्तुलनको अवस्था अध्ययन र राष्ट्रहितको पक्षमा दृढ हाम्रो नेतृत्वको नेतृत्वमा गठित सरकारले लिएको अग्रसरताको पक्ष युगीन छ। बैठकले यसलाई सराह्रना गरेको छ, अपनत्वबोध गरेको छ र सम्मान प्रकट गरेको छ।
बैठकमा उपस्थित सदस्यहरूको सक्रिय सहभागिताले पार्टीविरूद्ध देखिएको चौतर्फी घेराबन्दी र घेराबन्दीको सामना गर्ने केन्द्रीय कमिटी सदस्यहरूको अध्ययन, भोगाइ, बुझाइ आदिलाई नजिकैबाट बुझ्दा सकारात्मक भाव उत्पन्न भएको छ, एउटा फरकखालको तरंगसमेत पैदा भएको छ। यदाकदा तलतलसम्म उब्जेको अन्तरविरोधलाई नजिकैबाट चिन्न र चिर्न सहयोग पुगेको छ । पार्टी लोकतान्त्रिक अभ्यास र आचरणबाट अघि बढेको पुनपुष्टि भएको छ, आन्तरिक लोकतन्त्र प्रवर्धन भएको छ। बैठकमा प्रस्तुत प्रस्तावअनुरूप निर्णय प्रक्रियामा प्रत्येक सदस्यको सहभागिता सुनिश्चित भएको छ। यसले निर्णित विषयवस्तुको कार्यान्वयनमा पनि जवाफदेही बन्न गम्भीर चासो र चिन्तासमेत जगाउने छ। कतिपय कारणले शुन्यांशतिर ढल्केको परस्पर संवाद, सहकार्य र मनोवललाई समेत अब उठाउने छ। अमुक नेतृत्व लक्षित कतिपय अनुचित अफबाह र मिथ्या प्रचारबाजीले सिर्जना गरेको अन्यौलता चिर्न नेता कार्यकर्तामाझ एकलय, एकताल र एकसुरसहितको एकस्वर विकास भएको छ। क्रमशः पार्टीलाई सवल र सुदृढ बनाउन उर्जा उर्वरतामा वृद्धि भएको छ।
निर्णायक राष्ट्रिय शक्ति निर्माणका सन्दर्भमा एमालेले भनेको र दृढ संकल्पका साथ उद्घोष गरेको मिसन-२०८४ मा आफ्नो उपस्थितिसहितको राजनीतिक भविष्य देख्ने हो भने शहर बसेर होइन, जिम्मेवार प्राप्त भएको कार्यक्षेत्रतिर डटेर मात्र सफलता सुनिश्चित हुने भएकोले परिभाषित जिम्मेवारीअनुरूपको पार्टी नेतृत्वलाई आधारभूत तहको मतदातासमक्ष जोड्न घच्घच्याएको छ।
सहकार्यसँग जोडिएको राजनीति
राजनीतिक नेतृत्वका हिसावले रणकौशल सावित एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीले ऐतिहासिक संविधानसभामार्फत हामीले पाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमाथि भएको वैदेशिक हस्तक्षेपलाई ठाडो अस्वीकार नगर्नुभएको भए बदलाको भावना यो शक्तिमा हुने थिएन। नेपाली समाज प्रलयकारी भुकुम्पले आक्रान्त बनेका बेला भारतले लगाएको नाकाबन्दीको डटेर सामना नगर्नुभएको भए यसको रिस फेर्न चण्डमुण्डहरू परिचालित हुने थिएनन्। इतिहासकालदेखि नै गुमनाम नेपाली भूभागहरू फिर्ता लिएर चुच्चे नक्शा प्रकाशनमार्फत देश-दुनियाँका लागि ध्यानाकर्षित र सार्वजनिक महत्त्वका विषय नबनाएको भए मित्रताको नाममा आङ कन्याउँदै गला निमोठ्न चाहने शक्तिले प्रतिशोध राख्ने थिएनन्। अन्तर्राष्ट्रिय बजारमा नेपालको पहुँच बिस्तार गर्न मित्र राष्ट्र चीनसँग पारबहन सन्धीसहित बिआरआई सम्झौता नगर्नुभएको यत्रो रिस र राग बाहिर आउने थिएन।
कम्फरटेबल सरकार गठनको विषयमा दृढताका साथ उभिने, पक्षपोषण गर्ने, अहोरात्र यसको बहस, पैरवी र वकालत गर्ने राजनीतिक शक्तिदेखि लिएर एउटा मोटरबायक बोर्डरपारि केही हजारमा आउछ, बोर्डरवारि नेपालमा चाहिँ ३ लाखसम्म पर्छ भनेर युवामाझ उद्धेलित तुल्याउने व्यक्तिहरू, व्यक्ति संगठित शक्तिहरूले राष्ट्रको स्वाधिनता र सार्वभौमसत्ताका खिलाफमा छन्। नेपालको आफ्नो बुता, बर्कत र पहुँचमा उभिएर आधारभूत समृद्धि हासिल गर्न गर्नुपर्ने विकास र निर्माणको पक्षलाई बुझ्दैनन्, बुझेका छन् भने यसको पक्षपोषण गर्दैनन्। हो, ठीक यहिबेला एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीले थाल्नुभएको बहस, पैरवी र आरम्भ गर्नुभएको विकास–निर्माणको नेतृत्वविरूद्ध सारा शक्तिहरू एक ठाउँमा उभिएका छन्, सालनालसहित एक ठाउँमा जोडिएका छन् । सारमा सम्पन्न आठौँ बैठकको ठम्याइ यही नै हो।
वर्तमान सत्तासाझेदार शक्तिबीचको सहकार्य यसैको प्रतिफलस्वरूप एउटा असाधारण बेलामा सिर्जित आवश्यकताको उपज हो। २०४६ को राजनीतिक परिवर्तनको राजनीतिक पृष्ठभूमिसँगै विकसित नेकपा (एमाले) र नेपाली काँग्रेसबीचको सहकार्यलाई प्राप्त राजनीतिक उपलब्धीको जगेर्ना गर्दै थप उपलब्धी आर्जन गर्न निरन्तरता दिएको भए यसबीचमा हामीले व्यहोर्नुपरेका राजनीतिक उतारचढावहरू आउने थिएनन् कि ! अथवा तत्कालीन अवस्थामा पार्टी महासचिव जननेता मदनकुमार भण्डारीले २०४७ सालको संविधानमाथि राखनुभएका आलोचनाका ऐतिहासिक २७ बुँदासहित कार्यान्वयनमा सहकार्य गर्ने शर्त र अर्थमा अघि सार्नुभएको फरक राजनीतिक मतअनुसार सहकार्य गरिएको भए देशले सहेको हिंसा-प्रतिहिंसाको दशक सहनुपर्ने थिएन कि ! नागरिक सर्वसाधारणले पनि पीडा र सास्तीका दिनहरू गुजार्नुपर्ने थिएन कि ! यो दुर्दशा आउने थिएन कि ! भन्ने तहसम्म विश्लेषण गरिनु वाञ्छनीय बन्यो।
बैठकबाट तय भएका कार्यभारका प्रश्न–निरूपण
संसदीय अभ्यासमा होमिएको र पछिल्लो मत परिणामका हिसावले देशको सर्वाधिक लोकप्रिय ठहरिएको पार्टीका हामी कार्यकर्तालाई कमिटीले यतिबेला आफ्नो भूगोल आधारित जिम्मेवारी दिएको छ। यसको अर्थ परिभाषित कार्यक्षेत्रमा जिम्मेवार र जवाफदेही बनेर राजनीतिक बैचारिक काम गर्नुपर्छ भन्ने नै हो। भूगोलमा पनि काम गर्न कतिपय समस्याहरू छन्। सुशासन, विकास र उद्यमशीलताको वातावरण सिर्जना गर्दै अघि बढ्नाले एउटा संगठकका लागि भूगोलका समस्या समाधान गर्न सकिन्छ भन्ने बुझाइ र ठम्याइ हो।
हाम्रा कमिटी संख्या सदस्य सहभागिताका हिसावले ठूला आकारका देखिएका छन्। यसकारण पनि पदाधिकारी नै कमिटी जस्तो बन्दै आयो। कतिपय महत्त्वपूर्ण निर्णय पनि पदाधिकारीको क्षेत्राधिकारको विषय बन्यो। कमिटीका प्रत्येक सदस्यको निर्णय प्रक्रियामा सहभागिताको सुनिश्तिता र निर्णय प्रक्रियामा सबैलाई बाँध्ने काम गरेन। अब कमिटी प्रणाली र निर्णय प्रक्रिया छरितो बनाउनुपर्छ । बनाउनका लागि सम्पन्न ३ सय ३१ सदस्यीय केन्द्रीय कमिटी बैठकमा आफैंमा एउटा अनुसरणयोग्य सिकाइ हो।
हाम्रो पार्टीले लोकतन्त्र, राष्ट्र–राष्ट्रियता, जनजीविकाका लागि एकसाथ उत्सर्गितभावले निर्देशित बलिदानीपूर्ण लडाइँ लडेको छ। परम्परागत कम्युनिष्ट आन्दोलनमा देखिने यसको प्रमुख आकर्षक अस्त्र माक्र्सवाद–लेलिनवादका अलावा माक्र्सवादकै नवीन संस्करणका रूपमा विकसित जनताको बहुदलीय जनवादद्वारा निर्देशित छ। पार्टी जीवन निर्माणमा आन्तरिक लोकतन्त्र वा लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छ । यसकारण पनि सबैखाले जनमत हामीतिर देखिन्छ । तर कार्यान्वयनको पक्ष कमजोर र फिलतो रहँदा बौदिक वर्गदेखि शहरिया जनमत खस्कँदै र गुम्दै गएको यथार्थलाई वस्तुपरक ढंगले अध्ययन विश्लेषणसहित हामीले अवलम्बन गर्नुपर्ने सर्वग्राह्य सामाजिक जीवन र सांस्कृतिक जीवनशैलीमा सुधार्नु अनिवार्य ठहराएको छ।
राजनीतिक र बिचारधारात्मकभन्दा पनि अराजनीतिक र राजनीतिक मुल्यका हिसावले अनुचित आन्तरिक विवाद, सतही हिलो छ्यापाछ्यापको तहमा प्रक्षेपण, कमरेड्ली व्यवहारअभावको अप्रिय मानमर्दन, विवादमाथिको निरपेक्ष बुझाइ विकास र अनापेक्षित तथा लाक्षणिक गुटगत गतिविधिले यदाकदा जरा गाडेको छ। जब हामीसँग राजनीतिक बैचारिक हिसावले समस्या छैन, बिचारधारात्मक समस्या छैन, नीतिगत रूपमा निक्र्यौल गर्नुपर्ने कुनै समस्या छैन, नेतृत्वमा कुनै प्रश्न छैन, अहिले विकल्प खोज्नुपर्ने बेला पनि होइन भने परस्पर अुनचित अभ्यास र हर्ककले किन प्रश्रय र प्रोत्साहन पाइरहन्छ ? यसलाई ठाउँका ठाउँ निरूपण गर्नुपर्छ, गुटगत गन्ध आउने गतिविधिलाई निस्तेज गर्नुपर्छ भन्ने अर्थमा बैठकले एकस्वरमा निर्देशन गरेको छ।
अपवादबाहेक अधिकांश ठाउँमा हाम्रो उपस्थिति तीन तहकै सरकारमा छ। एकातिर जनप्रतिनिधिले गर्ने चाहिँ के त ? उपयुक्त वातावरणमा तालिम प्रशिक्षणको आवश्यकता देखिन्छ भने अर्कोतिर वडाध्यक्षदेखि लिएर माननीयसम्मका हाम्रा व्यक्तिको बडाहाकिमचालको शानसौकिनपूर्ण तौरतरिका र अभिव्यक्तिले आधारभूत तहका नागरिकका मुद्दा र अपेक्षासँग ननिक होइन, टाढा बनाएको छ । पार्टीको अन्तरघुलन बढाउको छैन बरू घटाएको छ। सम्बन्धित तहको कमिटी जिम्मेवार बनेर सरकार सञ्चालनमा सहयोग गर्नुपर्ने अर्थमा बैठकले कार्यकर्ताको भूमिकालाई औंल्याएको छ।
हाम्रो नैतिकता, इमान, निष्ठामाथि उठेको प्रश्नको ठाउँका ठाउँ निरूपण हुनुपर्दछ । मौका पर्नासाथ परस्पर तेजोबध गर्ने, सार्वजनिक रूपमा मानमर्दन गर्ने, आलोचना गर्ने आदि अनुचित कर्मलाई दण्डसजायको विषय बनाइनुपर्छ। बैचारिक सुस्पष्टता, सुदृढीकरण, समायोजन आदि पक्ष शक्ति सञ्चयको मात्र विषयमात्र होइन, व्यक्तिमा पाइने कम्युनिष्ट आचरण र संस्कारसहितको संगठनात्मक विषय बनाउनुपर्छ । सैद्धान्तिक प्रक्षेपणका दृष्टिकोणले बद्लिँदो विश्व परिस्थिति, निर्माण गर्नुपर्ने दृष्टिकोण, आधुनिक अर्थव्यवस्था र हामीले चाहेको समाजवादसँग यसको अन्तरसम्बन्ध र नेतृत्वकारी बिचारको रूपमा उचाइ लिन अग्रसरता लिनुपर्छ।
जनगुनासो र यसको सुनुवाइबाट परिस्कृत हुने कार्यशैलीको विकास गर्नुपर्छ। आफ्नोपन, संस्कारसंस्कृति, पूर्वीय दर्शन, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयमा जनजागरण ल्याउन सक्नुपर्छ। यसलाई सामाजिक अभियानका रूपमा यसलाई अघि बढाउनुपर्छ । यी कतिपय विषयवस्तुमा समेत डिजिटल प्रविधिमा उल्लेख्य पहुँच विकास र बिस्तार गर्नुपर्छ। उपलब्ध सामाजिक सञ्जाललाई जनसरोकारका विषयवस्तुको साझा मञ्च र समग्रतामा पार्टी कामको प्रचारप्रसारको थलो बनाइनुपर्छ। तलसम्म कार्यकर्तालाई राजनीतिक बैचारिक, संगठनात्मक र प्राविधिक विषयमा समेत दीक्षित र प्रशिक्षित गर्न गराउन सक्नुपर्छ। यदाकदा आत्मसमीक्षा गर्ने, परस्पर स्वस्थ्यकर आलोचना गर्ने, फरक मतलाई पनि सहने, तत्काल अप्रिय लागे पनि सुन्ने र आत्मआलोचित हुने अभ्यास पुनः आरम्भ गर्नुपर्छ।
यसले मात्र हाम्रो अभियानको महत्त्वलाई बुझ्न र बुझाउन सजिलो हुन्छ। मिथ्या र भ्रामक प्रचारबाजीको खण्डन गर्न सकिन्छ । वर्तमान सत्तासाझेदार शक्तिसँगको सहकार्य र यसको आवश्यकताबारे बुझाउन सकिन्छ। पार्टी लक्षित समुदायमाझ उभ्याउन र क्रमशः गतिशील ढंगले बिस्तार गर्न सकिन्छ भन्ने पार्टी केन्द्रीय कमिटीको आठौँ बैठकको मर्म र निष्कर्ष हो । यो कर्म कान भर्नेबाट होइन, काम गर्नेबाट पूरा हुन्छ। जनताको बहुदलीय जनवादको दिशानिर्देशमा राजनीतिक बैचारिक हिसाबले सुदृढ समग्र पार्टी सङ्गठन सुदृढीकरण र शुद्वीकरण अभियानलाई तीब्रता दिन सकिन्छ। पार्टीविरूद्ध परिचालित कैयौं मिथ्या र भ्रामक प्रचारबाजीलाई निस्तेज तुल्याउन सकिन्छ। हाम्रो एकताबद्ध पार्टीलाई कमजोर बनाउन खोज्ने तत्वविरूद्ध खबरदारी सुझबुझपूर्ण गर्न सकिन्छ। क्रमशः पार्टी राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बन्छ । यसैमा हाम्रो भविष्य सुनिश्चित छ। हार्दिक शुभेच्छासहित…।
(लेखक नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ।)
प्रतिक्रिया