चीनको तिब्बत स्वशासित क्षेत्रमा २०८१ पुस २३ गते मंगलवा बिहान गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पबाट कम्तीमा १३० जना घाइते भएका हुन्।
सिगात्से सहरनजिकैको टिङ्ग्री काउन्टी एपिसेन्टर रहेको ६.९ म्याग्निच्युडको भूकम्पले वरिपरिका गाउँहरूमा ठूलो क्षति गरेको बताइएको छ।
तिब्बतका सरकारी अधिकारीहरूले तीन सयभन्दा ज्यादा उद्धारकर्ता परिचालन गरेका छन्।
राष्ट्रपति सी चिनफिङले पनि उद्धारमा खट्न निर्देशन दिनुभएको छ।
भूकम्पबाट नेपालमा भने हालसम्म कुनै मानवीय क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ। केन्द्रले एक विज्ञप्तिमार्फत सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको जनाएको छ । यसबाहेक इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको केन्द्रले जनाएको छ।
गृह मन्त्रालयका अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ स्थित प्रहरी चौकी भवन चर्किएको छ। त्यस्तै रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्याएको छ। ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको मन्त्रालयले जानकारी दिएको छ। यता काठमाडौँको स्युचाटारस्थित घरको छतबाट हामफाल्दा एक जना घाइते भएका छन्। उनको अस्पतालमा उपचार जारी रहेको छ।
त्यसै गरी, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको मन्त्रालयको भनाई छ । उपचारपछि स्वास्थ्य अवस्था सामान्य भई उनीहरू डिस्चार्ज भइसकेका छन्।
प्रतिक्रिया