काठमाडौं-स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेमाथिको थुनछेक बहस बुधबार सकिएको छ। बहस सकिएसँगै यसबारे आज नै आदेश आउने भएको हो।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज रविका पक्षबाट ५ जना कानुन व्यवसायीले आफ्नो जिकिर राखेका थिए।
बहस सकिएपछि सबै जनालाई इजलासबाहिर पठाएर न्यायाधीश अधिकारी आदेश लेख्न थालेका छन्।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए। त्यस दिन न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनीसँग बयान लिइएको थियो। थुनछेक बहस हुन सक्दा उनलाई प्रहरीको जिम्मा लगाइएको थियो। त्यसको अर्को दिन सरकारी वकिल र जाहेरवालाका तर्फबाट मात्र बहस सकिएको थियो।
प्रतिक्रिया