अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाप्रति गोकुल बास्कोटाको टिप्पणी: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?

रास्वपाप्रति गोकुल बास्कोटाको टिप्पणी: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?


काठमाडौं -नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुलले रास्वपाप्रति कटाक्ष गर्दै बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला भन्दै प्रश्न गर्नुभएको

नेता बास्कोटा रास्वपाका नेता तथा कार्यकर्ताहरूप्रति कटाक्ष गर्दै आज सामाजिक सञ्जाल फेसबुकमा यस्तो प्रश्न गर्नुभएको हो। उहाँले अदालत परिसमा नै मुक्का बजारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता-कार्यकर्ताले आफ्नो असली रूप देखाएका बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा नेता बास्कोटाले लेख्नुभएको छ, ‘न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन माइक टाइसनभन्दा तीनगुणा बललशाली रहेको प्रमाणित भयो।’

नेता बास्कोटाले रास्वपा सभापति रवि लामिछाने अझै तीन वटा अदालतमा हाजिर हुनुपर्ने प्रसंग निकाल्दै कति कालाकोट धुजा धुजा हुने हुन् भन्दै व्यंग गर्नुभएको छ। उहाँ लेख्नुहुन्छ, ‘अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ ? कति कालाकोट धुजा धुजा हुने हुन्? टेलर्स, मिडीया, मेडिकल, म:म, मकै सबै चल्ने भए। बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?’

हिजो (बुधबार) वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालतभित्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आक्रमण गरेका थिए। रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि बाहिरिने क्रममा उहाँमाथि आक्रमण भएको हो। उहाँमाथि आक्रमण भएपछि सामाजिक सञ्जालमा रास्वपाको आलोचना भएको छ।

त्रिपाठीमाथि आक्रमण गरेको विषयमा कानुनविद्हरूले आपत्ति जनाउँदै लामिछानेलाई यो प्रकरणले झन् कमजोर बनाएको जनाएका छन्।

सहकारी ठगी मुद्दामा लामिछानेलाई कास्की जिल्ला अदालतले गत बिहीबार ६५ लाख रुपैँया धरौटीमा छाडेको थियो भने बुधबार मात्र काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैँया धरौटीमा छाडेको छ।

लामिछाने विरुद्ध चितवन जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत र पर्सा जिल्ला अदालतमा पनि त्यहाँका सहकारी ठगी गरेको मुद्दा छ । लामिछाने लगायतले विभिन्न सहकारी ठगी गरेर गोर्खा मिडियामा रकम ल्याई अपचलन गरेका मुद्दा छन् । ती मुद्दा छानबिनको क्रममा लामिछाने ८४ दिन कास्की प्रहरी हिरासतमा बसेका थिए ।