अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशमा लगानीमैत्री वातावरण बनेको छ: शंकर पोखरेल

देशमा लगानीमैत्री वातावरण बनेको छ: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा अहिले लगानीमैत्री वातावरण तयार भएको बताउनुभएको छ। 
दाङ जिल्ला उद्योग वाणिज्य संघले बिहीबार दाङमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देशको आर्थिक अवस्था पनि क्रमशः सुधार हुँदै गएको बताउनुभयो। महासचिव पोखरेलले निजी क्षेत्रलाई आत्मविश्वासका साथ लगानी गर्न आग्रह गर्नुभयो। 

मूल्यवृद्धि घटेको, बैंकको ब्याजदर कम भएको, विदेशी मुद्रा सञ्चिति बढेको, राजस्व सङ्कलन सुधार भएको र अर्थतन्त्र उल्लेखनीय सुधार भएको महासचिव पोखरेलले सुनाउनुभयो। यस्तो अवस्थामा पनि व्यवसायीहरू अझै उत्साहित हुन नसकेका भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो। 

घोराही–तुलसीपुर सडक विस्तारको कामलाई सरकारले बजेट सुनिश्चित गरेर अघि बढाएको जानकारी दिँदै उहाँले फोर लेन सडक निर्माणको कामले उपलब्धि हासिल गर्दै अघि बढिरहेको बताउनुभयो। लमही-घोराही सडक विस्तारका लागि डिटेल प्रोजेक्ट रिपोर्ट तयार भइरहेको जानकारी दिँदै उहाँले आगामी आर्थिक वर्षमा यसको टेण्डर प्रक्रिया सुरु हुने जानकारी दिनुभयो। मसोट खोला क्षेत्रमा वैकल्पिक मार्ग निर्माण गरी आउने र जाने दुईवटा पुल निर्माण गरिने योजना पनि उहाँले सुनाउनुभयो। यसले व्यावसायिक क्षेत्रमा सहयोग गर्ने पोखरेलले धारणा राख्नु भयो । 

टरीगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि डिटेल प्रोजेक्ट रिपोर्ट तयार भइसकेको र विमानस्थललाई थप व्यवस्थित बनाउन मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाइरहेको उहाँले बताउनुभयो। महासचिव पोखरेलले दाङमा औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा प्राप्तिको नीतिगत निर्णय मन्त्रिपरिषद्ले गरिसकेको उल्लेख गर्दै अब जग्गा नामसारीका लागि पहल गर्नुपर्ने र त्यसपछि डीपिआर निर्माण हुने जानकारी दिनुभयो । दाङमा इन्धन डिपो स्थापना गर्ने प्रक्रिया अघि बढेको र यसले पेट्रोल पम्पहरूले नेपालगन्जबाट इन्धन ल्याउनु पर्ने बाध्यता अन्त्य गर्ने पनि उहाँले बताउनुभयो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासलाई विशेष प्राथमिकता दिँदै शैक्षिक कार्यक्रम सुरु भएसँगै शिक्षा र स्वास्थ्य सेवामा ठूलो उपलब्धि प्राप्त भएको उहाँले बताउनुभयो। उहाँले ४ सय शय्याको भवन निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै केही वर्षभित्र प्रतिष्ठानले उल्लेखनीय सुधार गर्ने विश्वास व्यक्त गर्नुभयो।

 भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि ल्याइएको अध्यादेशबारे चर्चा गर्दै उहाँले अध्यादेशले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्ने बताउनुभयो। सार्वजनिक सेवा प्रभावकारी बनाउन र लगानी मैत्री वातावरण तयार गर्न सरकारले ठोस कदम चालेको उहाँले बताउनुभयो।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरी, संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठलगायतले बोल्नु भएको थियो।