काठमाडौँ-जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा कानुनी, व्यावहारिक र बाल संवेगका कुनै पनि असर हुनु नहुने काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताउनु भएको छ।
महानगरपालिकाका बाल उद्धार कार्यदलका सदस्यहरुका लागि प्रदान गरिएको ७ दिने तालिमको समापन अवसरमा बोल्दै उपप्रमुख डंगोलले सो कुरा बताउनु भएको हो।
बाल उद्धार कार्यदलका सदस्यहरुमा ज्ञान वा सीप नभएका कारण त्रुटि नहोस् भन्नेमा आफू सचेत रहेको उपप्रमुख डंगोलले बताउनुभयो। उहाँले सानो ठानिएको अवस्थाले व्यक्तिको जीवनमा ठुलो नकारात्मक असर पार्न सक्ने कुराको पूर्वानुमान गर्न सक्नुपर्ने धारणा राख्नुभयो।
‘काम गर्दाको मनसाय सही हुनुपर्छ, मनसाय मात्र सही भएर पुग्दैन, काम गर्दाको प्रक्रिया पनि पूरा भएको हुनुपर्छ। यसकारण ‘मनसाय’ र ‘प्रक्रिया’लाई सही हुनुपर्छ’ उपप्रमुख डंगोलले उद्धार कार्यलाई निर्देशित गर्नुभयो।
तालिम २०८१ पुस २८ गते सुरु भएको बाल कल्याण अधिकारी, सामाजिक विकास विभाग, शिक्षा विभाग, महानगर प्रहरी बल, कल सेन्टरका प्रतिनिधि, बालबालिका खोजतलास सेवा, बाल हेल्पलाइन १०९८, समाजसेवी, बाल मनोविज्ञ, महानगर बाल अधिकार समितिका सदस्य गरी ३४ जना प्रशिक्षार्थी सहभागी हुनुहुन्थ्यो ।
बाल अधिकार, बाल संरक्षण, बाल उद्धार कार्यदलको भूमिका, घटना व्यवस्थापन, घटना व्यवस्थापन, उपसमितिको भूमिका बाल उद्धार आचारसंहितालगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
तालिमका प्रशिक्षार्थी नगर प्रहरी जवान गंगा ढुङ्गानाले तालिमबाट बालबालिकाको अधिकार, अवस्था र संरक्षणका कानुनका बारेमा स्पष्ट हुन पाएको उल्लेख गर्नुभयो। यसबाट सिकेको सिपबाट बालबालिकाको उद्धारमा आत्मविश्वाश बढेको उहाँको प्रतिक्रिया थियो।
महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा महानगर बाल अधिकार समिति गठन गरिएको छ। सोही समितिअन्तर्गत वडा सदस्य रसला तण्डुकारको संयोजकत्वमा बाल उद्धार कार्यदल र वडा सदस्य सृष्टि कंसाकारको संयोजकत्वमा घटना व्यवस्थापन उपसमिति गठन भएको छ।
महानगरपालिकाको बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी कार्यविधि, २०८० ले, महानगरपालिका क्षेत्रभित्र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको उद्धार गर्न र उद्धार गरिएका बालबालिकाको अस्थायी संरक्षणलगायतका कार्यमा सघाउन बाल उद्धार कार्यदल गठन गर्न सक्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया