विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रको बसाइँ सराइलाई रोक्ने गरी योजना बनाउनुपर्ने बताउनुभएको छ।
आज विराटनगरमा प्रदेश योजना आयोगले आयोजना गरेको प्रदेश स्तरीय आयोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पहाडबाट तराईमा बसाइँ सर्ने प्रवृत्ति अत्याधिक रहेकोले त्यसलाई रोक्ने गरी योजनाहरु बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।
मुख्यमन्त्री कार्कीले असन्तुलित बजेट वितरणलाई रोकेर समानुपातिक र कामयाबी बजेट बनाउनुपर्नेमा जोड दिनुभयो। पहाडी क्षेत्रको जनजीवन सहज बनाउने रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले हामी जति लगानी गरेर योजनाका काम गर्छौं हाम्रा लक्ष्य र उद्देश्य पूरा हुनुपर्ने बताउनुभयो।

हामीले लगानी गरेका कामहरूबाट आम्दानी समेत हुने गरी योजना बनायौं भने प्रदेशको आर्थिक स्रोत पनि बलियो हुने मुख्यमन्त्री कार्कीले बताउनुभयो। मुख्यमन्त्री कार्कीले प्रदेशको स्रोत सिमित भएकोले अब लगानी गर्दा खास गरेर पर्यटनको क्षेत्रमा हामीले जति लगानी गर्छौं त्यसबाट प्रदेशलाई पनि आम्दानी हुने गरी काम गर्नुपर्ने धारणा राख्नुभयो। स्थानीय तहले पर्यटनको क्षेत्रमा लगानी गर्दा हामीले पनि संयुक्त रुपमा लगानी गरेर त्यसको आम्दानी प्रदेश र स्थानीय तहलाई बाँड्ने गरी योजना ल्याउनुपर्छ ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो , ‘यसो गरियो भने हाम्रो काम पनि हुन्छ र प्रदेशको स्रोत पनि बढ्दै जान्छ।’ यस वर्षदेखि प्रदेश सरकारले सञ्चालन गर्न लागेको प्रदेश योजना बैंकको विषयमा कोशी प्रदेशका प्रदेश सभा सदस्यहरुसँग आयोजना गरिएको सो अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशले गरेका कामहरूमा प्रदेश सभाका सदस्यहरूलाई छायाँमा नपार्ने गरी अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो।
उहाँले भन्नुभयो, ‘प्रदेश सांसदलाई पनि स्वामित्व लिँदै योजनाहरू छनोट गरौं र केही पाइएन भन्ने गुनासोलाई न्यूनीकरण गर्दै नमुना काम पनि गरौं।, उहाँले प्रदेश योजना बैंक सञ्चालनमा आएसँगै प्रदेशका योजनाहरु विधि र प्रक्रियागत ढंगले अगाडि बढ्ने र यसले बजेटमा देखिने व्यथितिहरु पनि हट्ने बताउनुभयो।
सो कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर रानाले प्रदेश प्रदेशमा सन्तुलित विकास गर्न र गोजीबाट योजना हाल्ने प्रवृत्तिको अन्त्य गर्न प्रदेश आयोजना बैंक कामयाबी हुने बताउनुभयो। कोशी प्रदेशका प्रदेश सभा सदस्य, मन्त्रीर सचिवहरूको सहभागितामा कार्यक्रम भएको थियो।
प्रतिक्रिया