सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता सञ्चालकका कमजोरीलाई लिएर गणतान्त्रिक व्यवस्थामाथि नै दोष थुपार्ने काम नगर्न आग्रह गर्नुभएको छ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको कर्णाली प्रदेशस्तरिय दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले व्यक्तिको कमजोरीलाई व्यवस्थामाथि थुपार्दा गणतन्त्रमाथि प्रश्न चिन्ह गर्नेले मौका पाएको बताउनु भयो।
मुख्यमन्त्री कँडेलले सत्ता सञ्चालनमा देखिएको कमजोरीलाई लिएर व्यवस्थामाथि प्रहार भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘सत्ता सञ्चालनमा केही कमजोरी होलान्, नागरिकका अपेक्षित अपेक्षा पनि पूरा भएनन होला, ती सुधारेर जान सकिन्छ तर सत्ताको कमजोरीलाई व्यवस्थासँग तुलना गर्नु जायज होइन।’ मुख्यमन्त्री कँडेलले गणतन्त्रमाथिको प्रहार सत्ता सञ्चालकमाथिको मात्रै प्रहारको रुपमा नबुझ्न पनि आग्रह गर्नुभयो। अहिले व्यवस्थामाथिको प्रहारले सत्ता सञ्चालकमाथि मात्रै देखिए पनि त्यसले नागरिक अधिकारमाथि नै धावा बोलेको उहाँको भनाई थियो ।
जनताको लामो संघर्षपछि प्राप्त लोकतान्त्रिक व्यवस्थाको विकल्प अझ उन्नत खालको लोकतन्त्र भएको बताउँदै मुख्यमन्त्री कँडेलले फेरि रैति शासन व्यवस्था ल्याउँछु भनेर लाग्नु मुर्खता भएको र त्यस्तो मुर्खता नगर्न उनले सुझाव दिए । उहाँले भन्नुभयो, ‘जनताले लामो संघर्ष गरेर ल्याएको योभन्दा अर्को उन्नत व्यवस्था छैन्, कमजोरीहरु सच्चाउँ तर व्यवस्थमाथिको प्रहार बन्द गरौँ ।’
प्रतिक्रिया