काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ।
सोमबार काठमाडौँमा भएको ‘हिमालयन डाइलग’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।
प्रधानमन्त्री ओलीले अहिले शिक्षकहरुले आन्दोलन गरिरहेका छन् किन चलाएको हो ? भनेर प्रश्न समेत गर्नुभयो। ‘अहिले शिक्षक आन्दोलन गरिरहेका छन् । किन आन्दोलन गरेको हो शिक्षक साथीहरूले ? मलाई थाहा छैन। म प्रधानमन्त्री छु, भनिराखेको छु। जायज मागहरू लिएर कोही आउँदाखेरि आन्दोलन गरिरहनु पर्दैन हामी त्यसको समाधान दिन्छौ’, ओलीले भन्नुभयो, ‘हामी त्यसलाई सम्बोधन गर्न तयार छौ। दुःख पाउनुपर्दैन, सडकमा गएर सुत्नै पर्दैन भनिराखेका छौ उहाँहरूले किन दुःख पाउनुभएको हो ?’

प्रधानमन्त्री ओलीले शिक्षकहरू संवादमा आउने बित्तिकै माग सम्बोधन गर्ने पनि बताउनुभयो । उहाँले हत्या हिंसा, तोडफोड जस्ता प्रवृत्ति पनि देखिएको भन्दै हातमा कागज लिएर संविधानप्रति कसम खाएकाले पनि संसदमा आएर यहीं संविधान मान्दिन भन्ने गरेको बताउनुभयो। ‘कत्रो विरोधाभास छ, इमानको कत्रो खडेरी छ। कति सारो खडेरी हो। यसले संक्रमणकालमै छौ भन्ने हो’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन अवस्था अझै पार भैनसकेको बताउनुभयो। ‘सङ्क्रमणकालीन अवस्था अझै पार भैसकेको छैन भन्ने कुरा पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भनिराख्या छ हामी सुनिरहेका छौँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यो एउटा प्रमाण हो ।’
प्रतिक्रिया