अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

स्पष्ट नीति र बजेट बनाउन सचिवहरुलाई मुख्यमन्त्री कार्कीको निर्देशन

स्पष्ट नीति र बजेट बनाउन सचिवहरुलाई मुख्यमन्त्री कार्कीको निर्देशन


विराटनगर-कोशी प्रदेश सरकारले आगामी नीति कार्यक्रम तथा बजेटको तयारी प्रारम्भ गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशका सचिवहरुलाई नीति कार्यक्रमका प्राथमिकता र बजेटका बारेमा निर्देशन दिनुभएको छ।

सचिवहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले नीति र कार्यक्रम राम्रो र प्रभावकारी हुनुपर्ने बताउनु भयो। उहाँले सरकारले ल्याउने नीति कार्यक्रम एकातिर र बजेट अर्कोतिर हुने प्रवृत्तिलाई अन्त्य गर्न निर्देशन दिनुभयो। उहाँले भन्नुभयो’ ‘नीति पनि हुन्छ कार्यक्रम पनि हुन्छ, तर बजेटको तार्तम्य हुँदैन। यस्तो विषयले राम्रो सन्देश जाँदैन। यो तुरुन्तै रोक्नुपर्छ।’

मुख्यमन्त्री कार्कीले काम कुरो एकातिर जस्तो पनि हुनुभएन आफ्नो स्रोत साधन र सामर्थ्यले भ्याएसम्म स्पष्ट नीति बनाउन निर्देशन दिनुभयो। नीति कार्यक्रम बनाउँदा आवधिक योजनालाई पनि अध्ययन गर्न र त्यसका विषयलाई ध्यान दिन पनि उहाँले जोड दिनुभयो।

अबको नीति कार्यक्रम सडक बाटो र पुलपुलेसो मात्रै होइन मानवीय सूचाङ्कलाई ध्यान दिएर बनाउनुपर्ने आवश्यकता रहेको औल्याउँदै उहाँले स्वरोजगार उद्दमशीलता लगायतका विषयमा पनि ध्यान दिन निर्देशन दिनुभयो।

‘प्रतिनिधि केन्द्रित बजेट होइन अबका नीति कार्यक्रम र बजेट जनतामुखी हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिका घर घडेरी र पहुँचवालाकोमा बाटो र सडक जोडिने खालको विकास हुनुहुँदैन।’

प्रदेश सरकार स्थापना भएको सात वर्ष पुगिसकेकोले अब प्रदेश सरकारको स्थायी संरचना बनाउने गरी पनि काम थाल्नको लागि मुख्यमन्त्री कार्कीले निर्देशन दिनुभयो।

उहाँले भन्नुभयो ‘प्रदेश संरचना बनेको लामो समय भयो अब यसको स्थायी संरचना बनाउन भौतिक पूर्वाधार मन्त्रालय र सरोकारवाला मन्त्रालयले ध्यान दिएर काम गर्नुपर्छ।’

रोजगार उद्दमशीलता वृद्धि हुने र पर्यटन प्रवर्धन हुने खालका योजना ल्याएर प्रदेशको आर्थिक स्रोत वृद्धि गर्ने तर्फ पनि नीति कार्यक्रमले जोड दिनुपर्ने बताउनुभयो।

नीति र बजेट बनाउँदा संघीय सरकारसँग समन्वय गर्न र स्थानीय तहलाई समेत जोड्ने गरी काम गर्न सचिवहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले लागत साझेदारीका कामहरूले प्रदेशको आम्दानी बढ्ने र सबैले कामको अपनत्त लिने भएकाले यस्ता योजनामा लाग्नुपर्नेमा जोड दिनुभयो।