विराटनगर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश लगानीको लागि निकै अनुकूल भएको बताउनु भएको छ। कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक सञ्जाल, कानुनी अवस्था र अन्यकुराहरुको कारण अहिलेको सवस्था अनुकुल रहेको बताउनुभयो।
प्रधानमन्त्री ओलीले कोशी प्रदेशमा सबैतिर सडक सञ्जाल जोडिएकाले कच्चा पदार्थ ढुवानी र उत्पादनलाई बजारसम्म पुर्याउन कुनै समस्या नभएको बताउनुभयो। हुलाकी राजमार्ग अन्तर्गत कनकाई र कमलामा पुल निर्माण भएलगत्तै चितवनसम्म सहज पहुँच हुने, माथिल्लो तर्फ एसियन मापदण्डको राजमार्ग निर्माण भइरहेकोले लगानी सुरु गर्दा बजारसम्म सामान पुगाउँदा राजमार्ग तयार भइसक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो।

मदन भण्डारी राजमार्ग, कोशी, तमोर, किमाथांका, टिप ताला नाकाजस्ता स्थानहरू खुला भएकाले कोशी करिडोर निर्माण भइरहेको र जहाँसुकै सामान ढुवानी गर्न सकिने हुँदा लगानीकर्तालाई नडराई अगाडि बढ्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो।
प्रधानमन्त्री ओलीले लगानीको वातावरण बनाउने प्रमुख कुरा भनेकै लगानीकर्ता र श्रमिकबीच कुनै खटपट नहुनु हो। श्रमिक र रोजगारदाताबीच समस्या देखिए पनि सहजै समाधान हुने र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सिद्धान्तअनुसार सन्धि कार्यान्वयन भएकाले आईएलओले नेपालप्रति सफलताको प्रशंसा गरेको प्रधानमन्त्री ओलीले बताउनु भयो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले अब भारतबाट सामान ढुवान गर्न सहज र सस्तो बनाउन जलमार्गको प्रयोग गर्ने गरी काम अघि बढ्ने बताउनुभयो। कोशी नदी र कर्णाली नदीमा जहाजमार्फत ढुवानी गर्ने गरी काम सुरु गरिएको उहाँले ताउनुभयो । गंगा नदीसम्म दुई नदीबाट कनेक्टिभिटी गर्ने उहाँले प्रस्ट्याउनुभयो।
त्यसैगरी, कर्णाली र विराटनगर विमानस्थलको लम्बाइ बिस्तार गर्ने भन्दै प्रधानमन्त्री ओलीले बुढी खोलाको चौडाइ बढाएर विराटनगर विमानस्थलको लम्बाइ बढाउने काम सुरु गर्नुपर्ने धारणा राख्नुभयो।
प्रतिक्रिया