नवलपुर-आईएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट २०८२ वैशाख २९ गते सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ।
आज आयोजित एक विशेष कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त होटलको औपचारिक उद्घाटन गर्नुभयो। औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा आएको हो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, विकास र साझेदारीको नमूनाको रुपमा मौलाकाली केवलकार विकास भएको बताउनुभयो।
मन्त्री पाण्डेले संस्कृतिको संरक्षण, धार्मिक पर्यटनको विकासमा र रोजगारी सृजनामा निजी क्षेत्र, सरकार र स्थानीय निकायको साझेदारीको उत्कृष्ट नमूनाको रुपमा मौलाकाली केवलकार तथा यो पर्यटन पूर्वाधार रहेको बताउनुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा मौलाकाली केवलकार लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई ग्रुपले मुलुकमा पर्यटन पूर्वाधारको विकासमा लगानी गरेको उल्लेख गर्दै उपयुक्त वातावरण पाएमा थप लगानी गर्ने बताउनुभयो।
‘उपयुक्त वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ। यो हाम्रो आत्मविश्वास हो। निजी क्षेत्रको यो आत्मविश्वासबाट लाभ लिएर आफ्नो क्षेत्रमा लगानी भित्र्याउन मुलुकका स्थानीय तहहरुले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ,’ अध्यक्ष ढकालले बताउनु भयो।
अध्यक्ष ढकालले लगानीको वातावरण बनाउने काम सबै तहका सरकारको रहेको र लगानीको मौखिक आह्वान नभई निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार मानेर ठोस र व्यवहारिक नीतिमार्फत अर्थपूर्ण सहजीकरण गर्नुपर्ने बताउनुभयो।
अध्यक्ष ढकालले भन्नभयो, ‘मौखिक रुपमा गरिने आह्वानहरुले मात्र पुग्दैन, निजी क्षेत्रलाई वास्तविक साझेदार ठानेर ठोस र व्यवहारिक नीति मार्फत अर्थपूर्ण रुपमा सहजीकरण गर्नुपर्छ। सबै स्थानीय तहहरुले दीर्घकाललाई लक्षित गरी पर्यटकीय संरचनाहरु बनाउन जरुरी छ। म पुन:दोहोर्याउन चाहन्छु कि लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलीयतपूर्ण व्यवस्थाले मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ।’
अध्यक्ष ढकालले पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्य अनुसार पर्यटक भित्र्याउन सकिने बताउँदै उनले पर्यटन पूर्वाधारको लगानीले तत्काल प्रतिफल दिने समेत बताउनुभयो।
गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले गैँडाकोटमा ठूलाठूला पर्यटन पूर्वाधार बनेकोमा खुशी व्यक्तगर्दै निजी क्षेत्रलाई लगानी प्रोत्साहन गर्न आफुहरु तयार रहेको अध्यक्ष ढकालले बताउनुभयो।

मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरु उपलब्ध छन्।
केबलकारसहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरुसमक्ष पुर्याउन थप सघाउन पुग्ने विश्वास आईएमई ग्रुपले लिएको छ।
आईएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ।
हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन्।
लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ।
त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने छन। त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रकृयामा छ।
प्रतिक्रिया