काठमाडौं-नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ। टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उहाँको प्रतिनिधिसभाको सांसद पद स्वत:निलम्बनमा परेको हो।
भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ। तर, यस सम्बन्धी औपचारिक प्रतिक्रिया जानकारी पाएपछि मात्रै दिइने संसद सचिवालयका अधिकारीहरू बताउँछन् । बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।
प्रतिनिधि सभा सदस्य बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ । निलम्बनको सूचना सभामुखले संसदमा सुनाउनुपर्ने व्यवस्था छ ।
तत्कालीन सञ्चारमन्त्री बस्नेतसहित अन्य १५ जना तथा कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ।
टेरामक्सका लागि परामर्शदाताको मुख्य काम डिजाइन, डेभलप, सप्लाई, सफ्टवेयरको स्थापनालगायतका कुनै कार्य नगरी सामान आपूर्ति गरेबापत एक अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रुपैयाँ भुक्तानी दिइएको थियो।
पूर्व सञ्चारमन्त्री बस्नेतले दूरसञ्चार ऐन, २०५३ को दफा १८ र २० मा रहेका नेपाल सरकार मन्त्रिपरिषद्ले मात्र प्रयोग गर्न पाउने अधिकार (नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने नेपाल सरकारमा निहित अधिकार) को अपव्याख्या गरी अन्तर्राष्ट्रिय कल अनुगमन/भीओआईपी नियन्त्रणका लागि उपयुक्त उपकरण र प्रणाली सञ्चालन गर्ने भनी निर्देशन दिएको अख्तियारको आरोप छ।
प्रतिक्रिया