काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय परिमार्जन भएका कानूनहरु सही रुपमा कार्यान्वयनमा जान जरुरी रहेको बताउनुभएको छ।
नेपाल जग्गा तथा आवाश विकास संघको राजधानीमा भएको कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रमैत्री पछिल्लो समय धेरै कानूनहरु सरकारले ल्याएकाले त्यसको सही रुपमा कार्यान्वयन हुनुपर्ने बताउनु भएको हो। उहाँकाअनुसार निजी क्षेत्रले पटकपटक भनेपछि सरकारले निजी क्षेत्रमैत्री कानूनहरु ल्याएको छ, अब कानूनहरुको सही कार्यान्वयन गरेर मुलुकलाई अघि बढाउनुपर्छ।
अध्यक्ष ढकालले भन्नुभयो, ‘अहिले हाम्रा जुन कानूनहरु परिवर्तन भएका छन। वास्तवमा त्यो निजी क्षेत्रकै सुझावका आधारमा भएको हो। निजी क्षेत्रले पटकपटक कुरा गर्दा बल्ल सरकारले सम्बोधन गरेको छ। धेरै कुराहरु परिर्वतन भएका छन्। कतिपय कानूनहरु राम्रै कानूनहरु छन्। त्यसको इम्पिलिमेन्ट हुन जरुरी छ। अहिले परिर्वतन भएका कानूनहरुको कार्यविधि नियमावली छिटो बनाएर समयमै काम हुनुपर्छ। यो हुन सक्यो भने धेरै छिटो समयमा कामको परिणाम राम्रो आउनेछ।’
अध्यक्ष ढकालले हदबन्दी, वर्गीकरण सम्बन्धी व्यवस्थाहरू साँघुरो भएका कारण समस्या निम्ताएको बताउनु भयो। उहाँकाअनुसार उच्चस्तरीय आर्थिक सुधार आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सरकारले अक्षरशः पालना गर्नुपर्छ। निजी क्षेत्रले राजस्वदेखि रोजगारीसम्म बढाउन सक्ने भएकाले यो क्षेत्रको विकासका लागि सरकार उदार हुनुपर्नेमा उहाँले जोड दिनुभयो। विगतमा निजी क्षेत्रले दिएका सुझावहरू कार्यान्वयन नगरिएकै कारण मुलुकले आर्थिक मन्दीसम्मको सामना गर्नुपरेको अध्यक्ष ढकालले बताउनु भयो।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपकुमार मल्होत्राले घरजग्गा व्यवसाय नफस्टाएको कारणले अरू धेरै क्षेत्रमा समस्या आएको बताउनुभएको छ। अध्यक्ष मल्होत्राले सबैभन्दा पहिला घरजग्गा, रियल स्टेट क्षेत्रको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो।
प्रतिक्रिया