काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस पूर्णत रोक्न निर्देशन दिनुभएको छ।
नेकपा एमाले बागमती प्रदेश कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो। बैठकमा बोल्दै महासचिव पोखरेलले अहिले नेतृत्वको विषयमा छलफल होइन विधि र विधानका बारेमा बहस गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णतः रोक्नुपर्छ, पार्टी केन्द्रीय कार्यालयबाट बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो। २०८२ भदौ २०-२२ गतेलाई विधान महाधिवेशन तय भएकोले सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन महासचिव पोखरेलले निर्देशन दिनुभएको छ।

महासचिव पोखरेलले राजनीतिक र साङ्गठनिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधै विधान महाधिवेशनमा प्रस्तुत हुने जानकारी दिनुभयो ।तर विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइनेछ´ महासचिव पोखरेलले भन्नुभयो ।

बैठक अहिले जारी छ । बैठकमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी,बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई,अध्यक्ष कैलाश ढुंगेल लगायत सहभागी हुनुहुन्छ । बैठकमा बागमती प्रदेशका जिल्ला अध्यक्षहरुले सदस्यता नविकरण,नयाँ सदस्यता,टोल कमिटी गठन,पार्टीका अन्य गतिविधिका बारेमा रिपोर्टिङ गरिरहनु भएको छ ।

प्रतिक्रिया