काठमाडौं-राष्ट्रिय सभा सांसद तुलसा कुमारी दाहालले जनताको बलिदान र सङ्घर्षबाट स्थापित व्यवस्थामाथि प्रश्न उठ्नु सामान्य कुरा नभएको बताउनुभएको छ। मङ्गलवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले राजनीतिक क्षेत्रमा देखिएका यस प्रकारका दृश्य र तरङ्गलाई विश्लेषण गर्ने समय आएको बताउनुभएको हो।
सांसद दाहालले हाल संविधान र व्यवस्थाप्रति फैलाइएको अफवाह, सङ्घीय लोकतन्त्र र गणतन्त्रको विरोधमा मिथ्या आरोप लगाउने काम भइरहेकाले राजनीतिक दल र नेतृत्व गम्भीर हुनुपर्नेमा जोड दिनुभयो। एक आपसमा हिलो छ्याप्ने काम मात्र गर्ने हो भने प्राप्त उपलब्धिको रक्षा गर्न नसकिने भन्दै उहाँले जनताको आन्दोलनमार्फत विस्थापित भएको व्यवस्था अमुक व्यक्तिलाई अघि सारेर समाजलाई इतिहासमा फर्काउने दुष्प्रयास भइरहेको सांसद दाहालको टिप्पणी थियो।
सांसद दाहालले अहिले देखिएका असन्तुष्टिलाई राजनीतिक दल, तीनका नेतृत्वले गरेको प्रतिबद्धता र ओहोदामा बस्नेले जिम्मेवारी पूर्वक पूरा गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिक क्षेत्रमा देखिएको दृश्य र तरंगलाई विश्लेषण गर्नु जरुरी भएको छ। प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि पटकऔपटक आन्दोलन भएका छन्। ती आन्दोलनहरुमा अमूल्य जीवनको आहूति दिने सहीदहरुलाई स्मरण गर्नु आवश्यक छ। आन्दोलनका क्रममा अपांग र घाइते भएकाहरुको उपचार गर्न अझै बाँकी छ। परिवारको समस्यालाई समाधान गर्नसमेत सकिएको छैन। समाजमा समय समयमा प्रकट हुने नकारात्मक सोच, संविधान व्यवस्थाप्रति फैलाइएको अफबाह, संघीय लोकतन्त्र र गणतन्त्रको विरोधमा मिथ्या आरोप लगाउने काम भइरहेका छन् ‘
राजनीतिक दलका नेताहरु गम्भीर हुन र चिन्तन मनन गर्नु आवश्यक रहेको उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, ‘राजनीतिक दल र तीनका नेता र जनताको विभिन्न आन्दोलनमा भएको बलिदान संघर्षबाट स्थापित व्यवस्थाप्रति प्रश्न उठ्नु सामान्य कुरा होइन। विगतमा परिवर्तनका लागि आन्दोलन गर्ने दलहरु, सत्ताका विभिन्न समयमा रही काम गर्ने राजनीतिक दलका नेताहरु गम्भीर हुन र चिन्तन मनन गर्नु आवश्यक छ। एकापसमा हिलो छ्याप्न थाल्यौं भने प्राप्त उपलब्धीहरुको रक्षा गर्न सकिँदैन। यसै अधिवेशनमा नेपाल सरकारले आफ्ना नीति कार्यक्रम र प्राथमिकताका आधारमा बजेट बिनियिोजन गरिसकेको छ। अति आवश्यक विधेयकहरु पनि यसै सदनमा ल्याउने प्रतिबद्धता गरेको छ। यसलाई सकारात्मक रुपमा लिनुपर्छ। इतिहास सबै देशको हुन्छ, हाम्रो देशको पनि छ। इतिहासमा भएको घटनाक्रमको स्मरण र समीक्षा गर्न सकिन्छ, पाठ सिक्न सकिन्छ।’
३० वर्षे पञ्चायती निरंकुश व्यवस्थामा फर्किएर जनतालाई रैती बनाउन खोजिएको हो कि भन्ने उहाँले प्रश्न समेत गर्नुभयो। उहाँले भन्नुभयो, ‘पूर्खाको योगदानको गर्व गर्न पनि सकिन्छ। तर, इतिहास विगत हो फर्कदैन। यतिबेला केही व्यक्ति र समूहहरुले जबरजस्त एक सवाल स्थापित गर्न खोज्दैछन्। त्यो के हो भने जनताको आन्दोलनमार्फत विस्थापित गरेको व्यवस्था अमुक व्यक्तिलाई अघि सारेर समाजलाई इतिहासमा फर्काउने दुस्प्रयास गर्दैछन्। यो उल्टो बाटो हिड्ने प्रयास गरिएको हो। कता फर्किन खोज्दैछन् ? ३० वर्षे पञ्चायती निरंकुश व्यवस्थामा फर्किएर जनतालाई रैती बनाउन खोजिएको हो कि ? एक सय चार वर्षे जहानिया राणा शासनमा फर्किने हो कि ? कहाँसम्म जाने हो यो भन्दाअघि पनि नेपालको इतिहास छ सुल्टोबाटो हिँड्न आग्रह गर्दछु। २०७२ को संविधानले सार्वभौम सम्पन्न जनतालाई बनाएको छ जनता अब फेरि रैती बन्न चाहँदैनन्। अर्थतन्त्रलाई लयमा फर्काउन आधा अधुरा आयोजनाहरु पूरा गर्न, जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरि शिक्षा, स्वास्थ्य, सञ्चार प्रविधिलगायतका विषयमा सबै जनताको पहुँच पुराउन उद्योग व्यवसाय रोजगारीको सिर्जना गर्दै राजनीतिक दल र नेतृत्वले गरेको प्रतिबद्धता पूरा गर्नु जरुरी छ। पद र ओहोदामा बस्नेले जिम्मेवारी पूरा गर्नुपनि पर्छ। आफू सत्ता र नेतृत्वमा बस्दा गरेका राम्रा कामहरु, चाहेर पनि गर्न नसकिएका कामहरु आफैंभित्र पनि समीक्षा गर्न र जनताकाबीचमा पनि समीक्षा गर्नु जरुरी छ।’
उहाँले अर्थतन्त्रललाई लयमा फर्काउन आधा अधुरा आयोजनाहरु पूरा गर्न, जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी शिक्षा, स्वास्थ्य, सञ्चार, प्रविधिलगायतका विषयमा राजनीतिक दल र नेतृत्व जिम्मेवार बन्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया