काठमाडौं-स्वतन्त्र सांसद डा. अमरेश सिंहले नेपालका ५ जिल्ला बाहेकका जिल्लालाई लिजमा दिन भनेपछि संसद्मा हंगामा भएको छ।
आइतबार बजेटमाथिको छलफलको भाग लिँदै सांसद सिंहले बजेट नजाने जिल्ला नेपालमा किन राख्ने ? प्रश्न गर्दै ७२ जिल्ला चीन, अमेरिका भारतलाई लिजमा दिनुपर्ने अभिव्यक्ति दिनुभएको हो।
सांसद सिंहले यस्तो अभिव्यक्ति दिएपछि नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नियमापत्ति जनाउँदै यो अभिव्यक्ति देशद्रोही भएको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन र सिंहलाई कारबाही गर्न माग गर्नुभयो ।
‘देशलाई अन्यत्र गाभौं भन्ने देशद्रोही अभिव्यक्ति। सार्वभौमिकता, अखण्डताविरोधी भनाइ राख्नेलाई कारबाही गर्नुपर्छ। विगतमा पनि उहाँको अभिव्यक्ति राम्रो छैन । हामी राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सक्दैनौं। कारबाहीको विषय बनाइयोस्’, बर्तौलाले भन्नुभयो।
उहाँले थप्नुभयो, ‘यो रेकर्डबाट हटाउने मात्रै होइन। उहाँलाई बोल्न दिने कुरामा पनि ख्याल गर्नुपर्छ। उहाँलाई यो भन्दा अगाडि बढ्न दिनु हुँदैन। कारबाहीको विषय बनाइयोस्। रुलिङ होस्।’
लगत्तै सभामुख देवराज घिमिरेले सांसद सिंहको भनाइ रेकर्डबाट हटाउन संसद सचिवालयलाई आदेश दिनुभएको थियो । ‘यो असंसदीय भाषा प्रयोग भयो,’ सभामुख घिमिरेले भन्नुभयो, ‘मैले रेकर्डबाट हटाउन निर्देशन दिन्छु।’
प्रतिक्रिया