काठमाडौं-नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले मध्यपूर्वमा जारी विश्वयुद्ध निम्त्याउने किसिमको गतिविधि रोक्न सबै देशहरूले पहल गर्नुपर्ने बताउनुभएको छ।
सोमवार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद अर्यालले इरान र इजरायलबिच भइरहेको युद्धमा अमेरिकाले आक्रमण गरेसँगै तेस्रो विश्वयुद्ध निम्त्याउने सङ्केत गरेको बताउनुभएको हो। उहाँले विश्व शान्तिमा यस प्रकारका गतिविधिले अर्को खतरातर्फ सङ्केत गरेको भन्दै शक्ति सम्पन्न राष्ट्रहरूले विपन्न राष्ट्रहरूमाथि बल प्रयोग गर्नु उपयुक्त नहुने बताउनु भयो । सांसद अर्यालले मानिसहरू सुतिरहेको अवस्थामा रातको समयमा थाहै नदिई शक्तिको दम्भले भइरहेको आक्रमणहरू निन्दनीय रहेको स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, ‘इरानमा आक्रमण भइरहेको छ, पहिले इजरायलले र त्यसपछि अमेरिकाले आक्रमण ग¥यो । प्यालेस्टाइनमा बच्चाहरू र महिलाहरू भोक भोकै खाना खाने ठाउँमा जाँदा पनि आक्रमण भइरहेको छ । यो तेस्रो विश्व युद्ध निम्त्याउने किसिमको जुन गतिविधि भइरहेको छ यसलाई तुरुन्त रोक्न सबै देशहरूले पहल गर्नुपर्ने आवश्यकता देखेको छु । विश्व शान्तिलाई अर्को खतराहरू मडारिइरहेको अवस्था छ । यो अवस्थामा शक्ति सम्पन्न राष्ट्रहरूले विपन्न राष्ट्रहरूमाथि कुनै किसिमको बल र ध्रुवीकरणलाई छोडेर विश्व शान्तिको लागि प्रयत्नहरू होस् र अहिले तत्काल विभिन्न देशहरूमा मानिस सुतिरहेको अवस्थामा थाहै नदिई शक्तिको दम्भले आक्रमणहरू भइरहेको छ यो निन्दनीय र भर्त्सना योग्य छ।’
उहाँले आणविक बल र ध्रुवीकरणलाई छाडेर विश्व शान्तिका लागि प्रयत्न गर्नुपर्नेतर्फ संसारले सोच्नुपर्ने समय आएको बताउनु भयो ।
प्रतिक्रिया