काठमाडौं-भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले समयमै काम नसक्ने निर्माण कम्पनी तथा ठेकेदारहरूमाथि कारबाही प्रक्रिया तिब्र पारेको बताउनुभएकाे छ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो बताउनुभएकाे हाे। उहाँकाअनुसार ‘क’ वर्गका ३४८, ‘ख’ वर्गका २७१ र‘ ग’ वर्गका १,०३१ वटा निर्माण कम्पनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दर्ता भएका छन्।
‘घ’ वर्गका २२ हजार ५५१ ठेकेदार कम्पनीहरू स्थानीय तहमा दर्ता भएको पनि उहाँले जानकारी दिनुभयाे। उहाँले समयमा काम नसक्ने ठेकेदारहरूको ठेक्का रद्द गर्दै कालोसूचीमा राख्ने काम अहिले धमाधम भइरहेको बताउनुभयाे।
उहाँले सडक आयोजना तथा भौतिक पूर्वाधार निर्माणको कामले समेत गति लिएको बताउनुभयाे। मन्त्री दाहालले भन्नुभयाे, ‘समयमै काम नसक्ने ठेकेदारहरुको ठेक्का रद्द गरी कालोसूचीमा राख्ने गरिएको छ। विकासे सबै मन्त्रालयसँग सम्बन्धित भएको कारण अहिले डाटा उपलब्ध गराउने अवस्था छैन। अहिले काम नगर्ने ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राख्ने काम धमाधम भइरहेको छ।’
मन्त्री दाहालले निर्माण सम्पन्न भइसकेका आयोजनाहरूको भुक्तानी फरफारक गर्नको लागि बजेटमा व्यवस्था गरिएको पनि बताउनुभयाे।






प्रतिक्रिया