अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय हो: प्रधानमन्त्री ओली

वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय हो: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताउनु भएकाे छ। २०८२ साउन १४ गते बुधबार राष्ट्रियसभाको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।

प्रधानमन्त्री ओलीले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभयाे। सरकारले एक-दुई जनालाई कारबाही गर्‍यो भने सरकार र भ्रष्टाचार पर्यायवाची भन्न थालिएको प्रधानमन्त्री ओलीले बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘सरकारले एक/दुई जनालाई कारबाही गर्‍यो भने सरकार र भ्रष्टाचार पर्यावाची भन्छन्। भ्रष्टाचार नियन्त्रणको काम गर्दा छ्यालब्याल रैछ भन्छन्। भ्रष्टाचार गर्नेलाई कारबाही नै नगर्ने त ? भ्रष्टाचार गर्न दिइन्नँ, कसैले गर्‍यो भने कारबाही हुन्छ। त्यही त गर्ने हो नि। सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छ, कहाँको भ्रष्टाचारको पर्याय ? गम्भीर विषयमा छलफल हुँदा हामीले पनि त्यही गम्भीरताका साथ लिनुपर्छ भन्ने म ठान्छु।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्ने विषयमा प्रतिबद्ध भएर काम गरिरहेको समेत बताउनुभयाे। 

यसअघि बैठकको शुन्य समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यावाची जस्तै बनेको आरोप लगाउनुभएकाे थियाे । मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको आरोप थियो।