अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्घटना पछि मान्छेको जीवनमा के हुन्छ ? यस्ता छन् असर 

दुर्घटना पछि मान्छेको जीवनमा के हुन्छ ? यस्ता छन् असर 


काठमाडौँ-बढ्दो सडक दुर्घटना त्यसबाट भएको अपाङ्गता, चोटपटक, आर्थिक, सामाजिक र मानसिक क्षति आदीका विषयमा नयाँ-नयाँ तथ्यहरू फेला परेका छन्। त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले नेपालमा हुने मृत्युदरको ठुलो हिस्सा सडक दुर्घटनाको रहेको तथ्याङ्कले देखाएको छ।

‘नेपालमा चोटपटक र चोटपटक सम्बन्धी मृत्युदरको सामाजिक कारक र आर्थिक परिणामहरू’ विषयक अध्ययनमा सात वटै प्रदेशका प्रादेशिक अस्पतालमा भर्ना भएका दुर्घटनाका बिरामीको बारेमा अध्ययन गरिएको थियो। खास गरी बिरामी र मृतकका परिवारको सामाजिक जनसाङ्ख्यिक अवस्था, आर्थिक अवस्था दुर्घटनाका कारण पुगेको आर्थिक क्षति, सवारी साधन र घर वा कार्यक्षेत्रमा हुने  दुर्घटना (चिप्लिनु वा भीरबाट लड्नु) आदि कारणले भएका मानवीय क्षति र यसका असरका बारेमा अध्ययनले थुप्रै रोचक तर गम्भीर तथ्यहरूलाई उजागर गरेको छ।

उक्त अध्ययनले दुर्घटनामा परी चोटपटक लाग्नेहरूमध्ये ठुलो सङ्ख्या पुरुषको रहेको तथ्याङ्कले देखाएको छ। कुल घाइते तथा चोटपटक लागेका व्यक्तिमध्ये ६४.१ प्रतिशत पुरुषहरू रहेका छन्। यसरी चोटपटक लाग्नेको औसत उमेर ३४ वर्ष चार महिना रहेको छ । ठुलो चोट लाग्ने तीन चौथाइ अर्थात् ७५ प्रतिशत पुरुषहरू ४४ वर्ष भन्दा कम उमेरका छन् । अझ रोचक त के भने दुर्घटनाबाट चोटपटक लागेका मध्ये ४० प्रतिशत २५ वर्ष भन्दा सानो उमेरका छन्। ‘हामीले अध्ययनका क्रममा थुप्रै तथ्यहरू, केसहरू फेला पार्‍यौं जसमध्ये धेरैलाई झस्काउने तथ्याङ्क भनेको करिब घाइते मध्ये करिब ६५ प्रतिशत पुरुषहरू देखिनुले दुई वटा कुराको सङ्केत गर्दछ’ अध्ययन समूहका टिम लिडर प्रा.डा. योगेन्द्र बहादुर गुरुङ भन्नुहुन्छ, ‘यसले पुरुषहरूको मोविलिटी बढी देखाएको मात्र होइन उनीहरू जोखिममा छन् भन्ने पनि सन्देश दिएको छ। यसलाई न्यून गर्न विभिन्न उमेर समूहका व्यक्तिहरूलाई अलग अलग सचेतना कक्षाको आवश्यकता देखिन्छ।’

अध्ययनले १५ देखि २४ वर्षका युवाहरू सवारी दुर्घटनाको ठुलो जोखिम क्षेत्रमा देखिएको प्रा.डा.गुरुङले बताउनुभयो। उहाँका अनुसार ‘टिनएज’ कारण उनीहरूमा विकास हुने सामाजिक र व्यक्तिगत इगो, देखासेखी आदिका कारण यो उमेर समूहका किशोर तथा युवाहरूले ट्राफिक नियमको उल्लङ्घन गरेर सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने आदि कारणले दुर्घटना बढेको हो। प्रा.डा.गुरुङ अनुसार अध्ययनमा दुर्घटनाका घाइतेहरूको शैक्षिक पृष्ठभूमि पनि सोधिएको थियो। जस अनुसार चोटपटक लागेका मध्ये ५८.५ प्रतिशत व्यक्तिहरूले प्राथमिक शिक्षा मात्र हासिल गरेको देखियो। महिला घाइतेमध्ये करिब ६६ प्रतिशत प्राथमिक शिक्षा हासिल गरेका छन्। ‘यो तथ्याङ्कले के देखाउँछ भने हाम्रा सवारी साधनका स्टेरिङ अझै पनि न्यून शैक्षिक योग्यता भएका व्यक्तिका हातमा छ’ गुरुङले भन्नुभयो, ‘सडकमा लेखिएका सडक सङ्केत, चिन्ह, निर्देशन आदि धेरैजसो अङ्ग्रेजी भाषामा लेखिएको हुन्छ तर चालकको शैक्षिक योग्यता प्राथमिक तह मात्रै देखिएकोले सरकारले सवारी नीतिमा पुनर्विचार गर्नुपर्ने देखिन्छ।’

घाइतेमध्ये चालक भन्दा यात्रुको सङ्ख्या नै धेरै हुन्छ। त्यसो हुँदा पनि सार्वजनिक वा निजी सवारीमा यात्रा गर्ने मध्ये यति न्यून शैक्षिक योग्यताका मानिसहरूको सङ्ख्या बढी हो त भन्ने प्रश्न उब्जिएको छ। 

अध्ययनले चोटपटक सवारी दुर्घटनाका कारण मात्र नभई अन्य कारण हाबी भएको देखाएको छ। जस अनुसार सबै भन्दा बढी चोटपटक घर र वरिपरिको क्षेत्रमा हुने गरेको देखिन्छ। यस क्षेत्रमा पुरुषको तुलनामा ठूलो सङ्ख्यामा महिलाहरू घाइते भएका छन्। यसरी घाइते हुनेमा पुरुष ३९.४ प्रतिशत हुँदा महिलाको सङ्ख्या ६०.२ प्रतिशत रहेको छ। दोस्रो स्थानमा सडक दुर्घटनामा मानिसहरू बढी घाइते हुने गरेका छन्। घाइते मध्येले ३१.७ प्रतिशत सडक दुर्घटनामा परेर घाइते भएको बताएका छन्। यसरी सडक दुर्घटनामा घाइते भएका मध्ये ७५ प्रतिशत पुरुषहरू रहेका छन्। 

घर वरिपरि लडेर घाइते हुनेहरूको उमेर पहिचान नभए पनि यस्तो ठाउँमा बढी जसो ज्येष्ठ नागरिकहरू घाइते भएको अनुमान गर्न सकिन्छ। ज्येष्ठ नागरिक महासङ्घका पूर्व अध्यक्ष छत्र प्रधानका अनुसार घर वरपर लड्ने र घाइतेहरू हुने ज्येष्ठ नागरिकहरू नै बढी छन्। ‘धेरै ज्येष्ठ नागरिकको सहारा भनेकै अहिले लौरो मात्र छ। घरमा आफन्त र स्याहार गर्ने विदेश वा काममा छन्’, प्रधान भन्छन्, ‘त्यसैले अशक्त अवस्थाका उनीहरू लडेर घाइते भएर झनै कष्टपूर्ण जिन्दगी बिताइरहेका छन्।’ प्रधानका अनुसार यस्ता अध्ययनले घाइतेको उमेर समूह पनि छुटाइदिने हो भने नीतिगत रूपमा ज्येष्ठ नागरिकको पक्षमा पैरवी गर्न सहज हुनेछ।

सवारी दुर्घटना वा अन्य घटनाबाट घाइते भएकाहरूले व्यक्तिगत वा पारिवारिक रूपमा मनोवैज्ञानिक र आर्थिक क्षति ब्योहोरेका छन्। यस्ता चोटपटकले धेरैलाई मनोवैज्ञानिक रूपमा क्षति गरेको अध्ययनले देखाएको छ। यसरी मनोवैज्ञानिक असर ब्योहोर्नेहरु पुरुषभन्दा महिलाको संख्या उच्च रहेको छ। अध्ययनमा सहभागी उत्तरदाता मध्ये २६.५ प्रतिशत महिलाहरू मानसिक रूपमा बढी प्रभावित देखिएका छन् भने २१.७ प्रतिशत पुरुषहरूमा चोटपटकको मनोवैज्ञानिक असर देखिएको छ। कुनै पनि व्यक्ति दुर्घटनामा परेर घाइते, अङ्गभङ्ग भएमा व्यक्तिगत मात्र होइन पारिवारिक रूपमा पनि आर्थिक क्षति पुग्ने देखिन्छ। सानै चोटपटक भए पनि समयमा उपचार नपाउँदा परिवारलाई अनावश्यक बोझ हुने गरेको छ। घाइते मध्ये ४६ प्रतिशतले चोटपटक लागेर भएको आर्थिक क्षतिलाई सन्तुलित अवस्थामा फर्काउनका लागि अध्ययनमा सहभागी मध्ये करिब २९ प्रतिशतले प्राथमिक उपचार पाएको बताएका छन्। चोटपटक लागेका बिरामीहरूलाई अस्पताल भर्ना गर्नु अघि प्राथमिक उपचार गर्नु अति आवश्यक मानिन्छ। घटना स्थलमै प्राथमिक उपचार पाउन सकेमा पीडितको स्वास्थ्यमा थप जटिलता नआउने सम्भावना रहन्छ। जसले गर्दा स्वतथ्यमा आउने थप जोखिम न्यूनीकरणमा मद्दत पुग्दछ। तर न्यून संख्याले मात्र प्राथमिक उपचार पाउने गरेका छन्। एउटा रोचक तथ्य त के हो भने उपचारका लागि अस्पताल पुग्ने महिला घाइते र पुरुष घाइतेका भएको लगानीको अन्तर निकै ठूलो छ। महिलाको उपचारको औषत खर्च २४ हजार ७ सय २ रुपैंया रहेका छ भने महिलाको ६० हजार ८ सय ८३ रुपैंया रहेको छ। लैंगिक व्याख्यताहरु यस्तो तथ्याङ्कलाई महिला र पुरुषका बीचमा हुने गरेको विभेद ठान्छन्। ‘आर्थिक स्रोतमा महिलाहरूको पहुँच कम छ भन्ने उदाहरण हो यो’ एक लैंगिक विज्ञ भन्छिन् ‘यो तथ्याङ्कलाई के देखाउँछ भने पुरुषहरू सुविधा सम्पन्न अस्पतालमा उपचार गराउँछन् भने महिलाहरू पूर्वाधार न्यून भएका अस्पतालमा उपचार गराउन बाध्य छन्।’ सडक दुर्घटनामा घाइते भएकाहरूको उपचार खर्च ज्यादै महँगो देखिन्छ भने घरवरपर लडेर घाइते भएकाहरूको उपचार खर्च तुलनात्मक रूपमा कम देखिन्छ। सडक दुर्घटनाका घाइतेको उपचार खर्च औसतमा  प्रतिव्यक्ति ८६ हजार ४ सय ३० र अन्य अवस्थाका घाइतेको उपचार खर्च ४० हजार २ सय ६ रुपैयाँ रहेको अध्ययनले देखाएको छ।

 यी तथ्यहरूले के देखाउँछन् भने दैनिक जीवनमा हामीले दुर्घटनाजन्य जोखिमलाई घटाउनु जरुरी छ। यात्रा गर्दा होस् वा घरको काम गर्दा दुर्घटना कुनै पनि बेला हुन सक्ने, त्यसबाट लागेको चोटपटकले ज्यान जाने, ज्यान बचे जीवनभर असर गर्ने हुँदो रहेछ। असर पनि व्यक्तिलाई मात्र होइन, परिवार, समाज अनि देशलाईलाई नै दुर्घटना र यसबाट लागेको चोटपटकले क्षतविक्षत पार्दो रहेछ। त्यसैले दुर्घटनाबाट जोगिऔँ। चोटपटक लाग्नबाट जोगिऔँ। परिवार र समाजको बोझ नबनौँ।