अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली राजमार्ग अवरुद्धः स्याउ बाटोमै कुहिने चिन्ता

कर्णाली राजमार्ग अवरुद्धः स्याउ बाटोमै कुहिने चिन्ता


कर्णाली-कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बिक्री गर्न समस्या भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका-१ गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध छ। राजमार्ग अवरुद्ध हुँदा आवतजावत गर्न समस्या भएको हो।

जुम्लाबाट स्याउ बोकेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँलगायत देशका विभिन्न ठाउँका लागि गुडेका मालवाहक ट्रक राजमार्गमै थन्किएका छन्। यसले यात्री र स्याउ व्यापारीले तीनदेखि सास्ती खेपिरहेका छन्। गन्तव्यमा पुर्याइसक्ने बेलामा बाटोमै अलपत्र पर्दा व्यापारीलाई स्याउ कुहिने चिन्ता छ। राजमार्ग खुलाउन पहल हुन नसकेको यात्री बालाराम नेपालीले बताउनुभयो।

जुम्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले पहिराका कारण स्याउ बोकेका २३ ट्रक बाटोमै रोकिएका बताउनुभयो। उहाँका अनुसार रु १३ करोड बराबरको एक सय ८४ मेट्रिक टन स्याउ कुहिने डर छ । किसानले बाटो खुलाउन सरोकारवालालाई अनुरोध गर्दैआएका छन्।

जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र चौधरीले सडकमा खसेका ढुङ्गा फुटाउन नसकिएको बताउनुभयो । “ढुङ्गा फुटाउन नेपाली सेनाको टोली मान्मबाट त्यसतर्फ जाँदैछ”, उहाँले भन्नुभयो । वर्षा भइरहेका कारण सडक खुलाउन बाधा पुगेको उहाँले बताउनुभयो ।

कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरीसहितको टोली पहिरो खसेको स्थानमा गएको जानकारी दिनुभयो ।