काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको पाँच दिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ । चीनको थियान्जिनमा आयोजना भएको शाङ्हाइ सहयोग संगठन (एससिओ) को २५ औँ शिखर सम्मेलन तथा बेइजिङ्मा भएको कार्यक्रममा सहभागी भएर बुधबार स्वदेश फिर्ता हुनुभएको हो।
प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते चीनको थियानजिन प्रस्थान गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले स्वागत गर्नुभयाे।
प्रधानमन्त्रीको स्वागतका लागि नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि विमानस्थल पुगेका थिए । त्यसक्रममा नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो ।
शिखर सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान झेङ, रुसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएकाे थियाे।
प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू समेत सहभागी भएका थिए।




तस्बिरहरू प्रधानमन्त्रीकाे सचिवालय






प्रतिक्रिया