अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबार र राष्ट्रपति निवास आसपास पनि कर्फ्यू

सिंहदरबार र राष्ट्रपति निवास आसपास पनि कर्फ्यू


काठमाडौं-जिल्ला प्रशासन कार्यालयले सिंहदरबार र राष्ट्रपति निवास आसपास पनि कर्फ्यू आदेश जारी गरेको छ। जेन-जी पुस्ताको आन्दोलन उग्र बनेपछि प्रशासन कार्यालयले राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, सिंहदरबार क्षेत्र र नारायणहिटी दरबार संग्रहालय आसपासमा कर्फ्यू लगाएको हो।

कार्यालयका अनुसार सोमबार दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी रहनेछ।

शीतलनिवास महाराजगन्ज क्षेत्रमा उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानअगाडिको चोकसम्म, पूर्वदक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म कर्फ्यु लागेको छ। 

त्यसैगरी हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रतर्फ केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म कर्फ्यु लागेको छ। 

नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटदेखि महेन्द्र शालिकसम्म कर्फ्यु जारी भएको छ। 

सिंहदरबार क्षेत्रमा भद्रकाली मन्दिर (तीनकुने आइल्यान्ड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबार उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म कर्फ्यु जारी भएको छ। 

यसअघि कार्यालयले नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरिसकेको छ।

दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो ।