काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई प्रेस चौतारी नेपालले असंवैधानिक, स्वेच्छाचारी र लोकतान्त्रिक मूल्य–मान्यताको प्रत्यक्ष उल्लंघन भएको भन्दै घोर विरोध जनाएको छ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेद्वारा आज जारी विज्ञप्तिमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति विवादमै रहेका बेला निर्वाचित प्रतिनिधिहरूको सभामाथि प्रहार गर्ने गरी प्रतिनिधिसभा विघटन गरिएको निर्णय संविधानवाद र कानुनको शासन विपरीत रहेको ठहर गरिएको छ।
“यस्ता कदमले लोकतन्त्रको जग नै कमजोर पार्छ,” विज्ञप्तिमा भनिएको छ, “यसले प्रेस स्वतन्त्रता, विचार अभिव्यक्ति र नागरिक अधिकार समेत खतरामा परेको छ।”
प्रेस चौतारी नेपालले लोकतन्त्र, गणतन्त्र र संविधानको संरक्षणका लागि आफू सदैव प्रतिबद्ध रहेको जनाउँदै प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णय खारेज गर्न माग गरेको छ । साथै, लोकतान्त्रिक अभ्यास गर्ने संसदीय थलो मास्ने कदमविरुद्ध नागरिक फेरि जाग्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
विज्ञप्तिमा विषमपूर्ण परिस्थितिमा सञ्चारकर्मीहरूले संयमित र सुरक्षित रहेर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै राज्यलाई सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति दिलाउन र समाचार संकलन, सम्प्रेषण, प्रकाशन तथा प्रशारणमा कुनै अवरोध नआओस् भन्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।








प्रतिक्रिया