अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब नयाँ ढंगले पार्टी अघि बढाउने संकल्प गरेका छौं: योगेश भट्टराई

अब नयाँ ढंगले पार्टी अघि बढाउने संकल्प गरेका छौं: योगेश भट्टराई


काठमाडौं-नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेकाे बताउनु भएकाे छ। आज पार्टी कार्यालय च्यासलमा बसेको जनसङ्गठन, सम्पर्क कमिटी, बागमतीका इन्चार्ज र अध्यक्ष तथा केन्द्रीय विभाग प्रमुखकाे बैठक सकिएछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव योगेश भट्टराईले यस्ताे बताउनु भएकाे हाे।

‘अब नयाँ ढंगले पार्टी अघि बढाउने हामीले संकल्प गरेका छौं। असाेज ३ गते संविधान दिवसलाई नेकपा एमालेले संविधानको स्मरण र मृतकप्रति सहानुभुतिको रुपमा देशभर मनाउने छौं,’ सचिव भट्टराईले भन्नुभयाे, ‘लोकतान्त्रिक प्रक्रियालाई फेरी लयमा फर्काउने र शान्तीपूर्ण ढंगले निर्वाचन गराउने संकल्प गर्ने दिन पनि हो असोज ३ गते त्यहीअनुसार अघि बढ्छौं।’

मुलुक राजनीतिक संकटको अवस्थामा रहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्था राजनीतक दलहरुबीच सहानुभुति र सहकार्यको आवश्यकता रहेको पनि बताउनुभयाे। सचिव भट्टराईले जेन–जी पुस्ताको आन्दोलनको क्रममा देशभर भएको क्षतिको विवरण संकलनको कार्य भइरहेको जानकारी गराउनुभयाे।

‘जुन ढंगले संरचनाहरू क्षति भएका छन्। देशभरको क्षतिको विवरण हामी लिँदैछौं । त्यही क्रममा हाम्रो पार्टी कार्यालयमा पनि क्षति भएको छ। संरचना, कागजात र गाडीहरू पनि जलेका छन् । अरु दलहरुका कार्यालयको अवस्था पनि त्यस्तै भएको छ। हिजो हामीले नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेका थियौं,’ सचिव योगेश भट्टराईले भन्रनुभयाे, ‘आज कांग्रेसका उपसभापति लगायत नेताहरू आएर हाम्रो पार्टी कार्यालयहरूको अनुगमन गर्नुभएको छ। यो बेलामा पार्टीहरूबीच सहानुभुति र सहकार्य गर्ने र कसरी अगाडि बढ्ने बेला पनि हो । देशभरी जहाँपनि संरचनाहरू जलेका छन्। त्यसका लागि दु:ख र सहानुभुति व्यक्त गर्दर्छौं।’