काठमाडौँ-नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमालेसहित सबै राजनीतिक दलहरूले आफ्ना कमीकमजोरीको समीक्षा गर्न जरुरी भएको बताउनु भएकाे छ।
संविधान दिवसका अवसरमा एमालेले पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष शाक्यले यस्तो बताउनुभएकाे हाे। उपाध्यक्ष शाक्यले जेनजी आन्दोलनमा स्वार्थी तत्त्वहरूको घुसपैठका कारण युवाहरूले ज्यान गुमाउनु परेको समेत बताउनुभयाे।
‘शोकलाई शक्तिमा बदल्न नयाँ ढङ्गले अघि बढ्नुपर्छ। निराश हुनुपर्ने छैन, निदान छ, हामीसँग लक्ष्य बोकेको संविधान छ’, उपाध्यक्ष शाक्यले भन्नुभयाे, ‘निर्वाचित प्रतिनिधि सभा अत्तालिएर विघटन गर्न पुगियो भन्ने लागिरहेको छ। संविधान अपरिवर्तनिय होइन, यसमार्फत नयाँ नेपाल निर्माण गर्नुपर्छ।’
उपाध्यक्ष शाक्यले अहिले देश रोइरहेको भन्दै गणतन्त्रलाई कमजोर बनाउने गरी अहिले पनि चलखेल भइरहेकाले सचेत हुन जरुरी रहेको बताउनुभयाे। ‘गणतन्त्रलाई अहिले पनि कमजोर बनाउन चलखेल भइरहेको छ। इतिहास कसरी कोर्ने हो ? त्यसमा पनि छलफल गर्नुपर्छ। इतिहासको पानालाई गर्व गर्नसक्नेगरी इतिहास थप्ने हो’, उपाध्यक्ष शाक्यले भन्नुभयाे, ‘संयम हुन जरुरी छ। सबै राजनीतिक दलहरूले नयाँ सोचका साथ राम्रा कामको आत्मसात् गर्दै कमीकमजोरी सच्चाएर अघि बढ्नै पर्छ।’







प्रतिक्रिया