काठमाडौँ-बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन्। पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो लोकमार्ग पूर्णरुपमा बन्द भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार नारायणगढ-मुग्लिन सडक पनि पहिरोले प्रभावित भएको छ। यद्यपि यो बाटो एकतर्फी सञ्चालनमा छ। काभ्रेको बिपी र अरनिको राजमार्गमा दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि होल्ड गरिएको छ।
रसुवाको पासाङल्हामु सडक पनि अवरुद्ध भएको छ । सङ्खुवासभाको वरुणखोलास्थित कोशी राजमार्ग र खाँदबारीदेखि किमाथाङ्का तथा थुमसुर जाने कोशी राजमार्गमा पनि सवारीसाधन सञ्चालन भएका छैनन् ।
ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मकवानपुरको महालक्ष्मी खोलास्थित फाखेल-हुमाने-काठमाडौं सडक पनि अवरुद्ध भएको छ । कान्तिलोकपथ र कुलेखानी सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक बन्द छ । मदन भण्डारी राजमार्ग सिन्धुलीको सिन्दुरे दोभानमा अवरुद्ध छ । कोशी लोकमार्गअन्तर्गत साँघुरीगढी गाउँपालिकाको चनौटे र सिमसुवामा बाटो अवरुद्ध भएको छ ।







प्रतिक्रिया