सल्यान-सल्यानमा जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। शारदा नगरपालिका–८ जावलपुर, खलंगास्थित सुनाचौरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ च ०१८६ नम्बरको डबलक्याप जीप सोमबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, जीप सडकबाट करिब ४०–५० मिटर तल खसेको छ।
दुर्घटनामा घाइतेमध्ये केहीको जिल्ला अस्पताल सल्यान र केहीको कर्णाली अस्पताल श्रीनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा शारदा नगरपालिका–८ आराका २७ वर्षीय जीप चालक सुरेन्द्र कुवँर गम्भीर घाइते भएका छन्। उनको टाउको, कान र हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
यसैगरी, सोही ठाउँको सुनाचौर बस्ने ६२ वर्षीया भोटी कुमारी बुढाथोकीको निधार, छाती र देब्रे हातमा मध्यम चोट लागेको छ । सोही ठाउँका १८ वर्षीय कुल बहादुर बुढाको अनुहार र टाउकोमा पनि मध्यम चोट लागेको छ ।
यस्तै, ६९ वर्षीय लाल बहादुर भण्डारीको टाउको र छातीमा मध्यम चोट, २१ वर्षीया मञ्जुरी रानाको ढाड र छातीमा मध्यम चोट लागेको छ । मञ्जुरी रानाकी ५ महिनाकी छोरी एलिशा रानाको अवस्था भने सामान्य रहेको छ ।
यस्तै, २६ वर्षीय सुशील कुवँरको देब्रे हातमा सामान्य चोट र ८५ वर्षीय भूप बहादुर विकको देब्रे हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया