इलाम- निवर्तमान सांसद एवं नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले अविरल वर्षाका कारण जिल्लामा व्यापक क्षति भएपछि तत्काल इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न र राहत तथा उद्धारका लागि फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ।
नेता नेम्वाङले सामाजिक सञ्जालमार्फत यो माग राख्दै इलामको वर्तमान अवस्थाबारे ध्यानाकर्षण गराउनु भएको हाे।
पहिरो, सडक ध्वस्त र सम्पर्क विच्छेदका कारण राहत तथा उद्धार कार्यमा समेत गम्भीर चुनौती उत्पन्न भएको वर्तमान अवस्थालाई मध्यनजर गर्दै तथा जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय तथा सिफारिस समेतको आधारमा तत्काल ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न उहाँको माग छ।
‘जिल्ला केन्द्र र राजधानीबीचको भौगोलिक कठिनाइ र सडक अवरोधका कारण आवश्यक राहत सामग्री, औषधि र जनसञ्चार अवरुद्ध भइरहेकाले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछु,’ नेता नेम्वाङले सामाजिक सञ्जालमा लेख्नुभएको छ। नेम्वाङ इलाम क्षेत्र नम्बर २ का सांसद हुन्।
त्यस्तै, जिल्ला केन्द्र र राजधानीबीचको भौगोलिक कठिनाइ र सडक अवरोधका कारण अत्यावश्यक राहत सामग्री, औषधि र जनसञ्चारमा समेत बाधा पुगेको उहाँले बताउनु भएको छ।
राहत सामग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्नका लागि नेम्वाङले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ।
उहाँले गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङलगायतलाई भेटी इलामका विपद्पीडितलाई उपलब्ध गराउनुपर्ने राहत, क्षतिपूर्तिका बारेमा जानकारी गराउनु भएको थियाे।
इलाममा अविरल वर्षापछि शनिबारको भीषण पहिरोमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ। पहिरोले सयौं घर जोखिममा छन् भने र सिंगो बस्ती बगाउँदा दर्जनौं परिवार विस्थापित भएका छन्।

सरकारसँग सुहाङ नेम्वाङको माग
‘अविरल वर्षाका कारण इलाम जिल्लामा व्यापक जनधनको क्षति, सडक अवरुद्ध, विद्युत् आपूर्तिमा अवरोध र जनजीवन पूर्णरूपमा अस्तव्यस्त भएको छ। पहिरो, सडक ध्वस्त र सम्पर्क विच्छेदका कारण राहत तथा उद्धार कार्यमा समेत गम्भीर चुनौती उत्पन्न भएको वर्तमान अवस्थालाई मध्यनजर गर्दै तथा जिल्ला विपद ब्यवस्थापन समितिकाे निर्णय तथा सिफारिस समेतकाे आधारमा इलाम जिल्लालाई तत्काल “संकटग्रस्त क्षेत्र” घोषणा गर्न सरकारसँग आग्रह गर्दछु।
साथै, जिल्ला केन्द्र र राजधानीबीचको भौगोलिक कठिनाइ र सडक अवरोधका कारण आवश्यक राहत सामग्री, औषधि र जनसञ्चार अवरुद्ध भइरहेकाले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछु’








प्रतिक्रिया