काठमाडौं – इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु छन् । अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न विहीबार सहमत भएका थिए । त्यसको पहिलोचरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो ।
इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका विपिनको अवस्था कस्तो छ भन्ने अहिलेसम्म स्पष्ट छैन ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित इजरायलका अधिकारीहरुसँग आफू निरन्तर सम्पर्कमा रहेको र विपिनको अवस्था बुझ्ने कोसिस गरिरहेको बताउँछन् । तर, अहिलेसम्म ठोस जानकारी केही नपाएको उहाँले बताउनुभयो ।
राजदूत पण्डितले भन्नुभयो ‘अहिलेसम्म विपिनको जीवनको बारेमा केही जानकारी छैन । उनको जेजस्तो अवस्था छ, त्यो चाँडै जानकारी हुनेछ भन्ने आशामा छौं ।’







प्रतिक्रिया