काठमाडौं-२०८२ असोज १७, १८ र १९ गतेको लगातारकाे अविरल वर्षा र बाढी–पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग शुक्रबार दिउँसोदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ।
अविरल वर्षासँगैको बाढीपहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा करीब चार किलोमिटर क्षति पुगेको सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको हाे।
सडक दुईतर्फी रूपमा भने आइतबारबाट सञ्चालनमा आउने संघीय सडक सुपरिपेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले बताउनुभयाे ।
अवरुद्ध भएको सडक खुलाउन रोशीखोलामा डाइभर्सन निर्माण, बगर मिलाउने र खाल्डा पुरिएको छ। क्षति पुगेको सडक सोमबारबाट मर्मत सुरु गरिएको थियो।
बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्याएको थियो । काभे्रको कटुञ्जे, चारसयबेँसी, चिउरीबास, मंगलटार (बोक्सीकुना), कालढुंगा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो)मा सडक क्षति पुगेको थियो । यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक (झोलुंगे पुल)मा सडक क्षति पुगेको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको निरीक्षण गर्नुभएको थियाे।







प्रतिक्रिया