रौतहट- रौतहटमा तलाउमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । गौर नगरपालिका-१ मा तलाउमा डुबेर राजदेवी नगरपालिका-८ की १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो।
घाँस बोकेर फर्किँदै गर्दा उनीहरू डुबेका हुन् । डुबेका अन्य ४ जनाको भने स्थानीयले उद्धार गरेका थिए ।
सात बालिकामध्ये चार जना सकुशल तैरिन सफल भए पनि तीन जना पानीमा डुबेर बेपत्ता भएका थिए। बेपत्ता बालिकाहरूको खोजीका लागि सशस्त्र प्रहरी बल गौर रौतहटबाट प्रहरी निरीक्षक गोपाल सहनीको कमाण्डमा ६ जना, जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनीको कमाण्डमा दैविक प्रकोप सामग्रीसहित ७ जना, सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको कमाण्डमा ११ जना र वीर दल गण पुरेनवाबाट मेजरको कमाण्डमा १९ जनाको टोली खटिएको थियो।
डुबेर बेपत्ता भएका तीनै जना बालिकालाई करिब पौने १२ बजे उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो। अस्पतालमा करिब १२ बजेर ९ मिनेटमा चिकित्सकले ईसीजी परीक्षणपछि तीनै जनालाई मृत घोषणा गरेका थिए।







प्रतिक्रिया