अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह

असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह


ललितपुर-नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अप्ठ्यारो र असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता हुनुपर्नेमा जोड दिनुभएको छ।

आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको एमालेको दशौँँ केन्द्रीय कमिटी बैठकको प्रारम्भ गर्दै उहाँले आफूहरू सिमलको भुवाजस्तो जता हावा लाग्यो उतै बग्ने खालको पार्टी नभएको स्पष्ट पार्नुभयो।

एमाले देशभक्ति, राष्ट्रियता, विकास र सामाजिक न्यायका लागि निरन्तर लाग्ने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले अहिलेको अवस्थामा राष्ट्रिय हितमा एकजुट हुन सबै दललाई आग्रह पनि गर्नुभयो ।

‘पार्टीको केन्द्रीय कमिटीले भन्छ र आदेश दिन्छ भने म खुसीका साथ नेतृत्व छाड्न तयार छु। तर अप्ठ्यारो स्थितिमा देशलाई अलपत्र पार्दिनँ’, अध्यक्ष ओलीले भन्नुभयो, “मैले पार्टीको अध्यक्ष छोड्नुपर्ने विषय फेसबुकले भन्ने होइन, यो कमिटीले भन्ने हो । कमिटीले भनेका बेला एकदम खुसीका साथ नेतृत्व छोड्न तयार छु। यो कमिटीमा बसेर कोही सदस्यले बाहिर गएर लोकप्रियवादका पछि कुद्न हुँदैन।’

अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता तथा कार्यकर्तालाई एमालेमा फर्कन आह्वान पनि गर्नुभयो। केन्द्रीय कमिटी बैठकमा अहिले अध्यक्ष ओलीले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहनुभएको छ। बैठक यही असोज ३१ गतेसम्म सञ्चालन हुनेछ ।