काठमाडौँ-दुई वर्षअघि गाजापट्टीस्थित हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन जोशीको शव आज (सोमबार) नेपाल ल्याइपुर्याइँदै छ। इजरायल सरकारले फ्लाई दुबईको उडानमार्फत विपिनको शव काठमाडौं पठाएको छ।उनको शव आज दिउँसो ३ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याइनेछ।
आइतबार शव पठाउनुअघि तेलअभिभमा आयोजित कार्यक्रममा इजरायली सरकारी अधिकारी, नेपाली दूतावासका प्रतिनिधि, नेपाली समुदाय तथा विपिन बसेको किबुज आलुमिमका बासिन्दाले उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा इजरायलको विदेश मन्त्रालयअन्तर्गत एसिया तथा प्रशान्त मामिला हेर्ने उपमहानिर्देशक अभिभ इजरा, कार्यवाहक नेपाली राजदूत कुमार श्रेष्ठ र स्थानीय समुदायका सदस्य सहभागी थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार अपराह्न प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का सदस्यहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले विपिनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि शव महेन्द्रनगर पुर्याएर परिवारले अन्तिम संस्कार गर्नेछ ।
काठमाडौँबाट विपिनको शव नेपाली सेनाको संयोजनमा उनको घर कञ्चनपुर पुर्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ।
विपिनको मृत्यु भएको जानकारी हमास समूहले २६ असोजमा सार्वजनिक गरेको थियो । त्यसै साँझ गाजाबाट इजरायलले शव तेलअभिभ ल्याएको थियो । मंगलबार डिएनए परीक्षणमा उक्त शव विपिनकै भएको पुष्टि गरिएको थियो । परीक्षण र पोस्टमार्टम दुवै तेलअभिभस्थित नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिनमा सम्पन्न भएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाँसीका बासिन्दा विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कैलालीस्थित टीकापुर कृषि क्याम्पसबाट ४९ जना विद्यार्थीको टोलीमा २०८० भदौ अन्तिम साता इजरायल गएका थिए।
यसैबीच २०२३ अक्टोबर ७ का दिन हमासले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थी मारिए भने विपिन अपहरणमा परे। हमासले फालेको ‘ग्रिनेड’ फाल्दै साथी जोगाउने खोज्दा विपिनलाई हमासले बन्धक बनाएर गाजा पुर्याएको थियो।
किबुज क्षेत्रमा रहेको कृषि फार्ममा १७ नेपाली विद्यार्थी बस्थे। विपिनको मृत्यु पुष्टि भएसँगै हमासको आक्रमणमा मारिने नेपालीको संख्या ११ पुगेको छ।







प्रतिक्रिया