गुल्मी-गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले कुटपिट गर्दा बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएकाे छ।
प्रहरीका अनुसार म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार दिउँसो आफ्नै बुवा करिब ५० वर्षीय धनबहादुर बिक र आमा करिब ४८ वर्षीया दिलमाया विकमाथि हँसिया र काठको किला ठोक्ने मुङ्ग्रो प्रहार गरेका हुन् । सो क्रममा बुवा धनबहादुर विकको घटनास्थलमै मृत्यु भएको र आमाको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय जनाएको छ।
दिलमायालाई गम्भीर चोट लागेकाले उपचारका लागि जिल्ला अस्पताल तम्घास हुँदै प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी अर्खवाङ गुल्मीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेर सुरक्षा व्यवस्था मिलाएको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा अर्को टोली समेत खटिएको गुल्मी प्रहरीले जनाएको छ। कुटपिट गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार ती युवकको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखिएको छ ।







प्रतिक्रिया