अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन: उपमहासचिव रिमाल

एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन: उपमहासचिव रिमाल


काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वका विषयमा कुनै विवाद नहुने बताउनुभएको छ।

प्रेस चौतारी नेपालद्वारा आज आयोजित संवाद कार्यक्रममा उपमहासचिव रिमालले लामो इतिहास र सङ्घर्ष हुँदै अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धा भएमा अस्वाभाविक मान्न नपर्ने बताउनुभयो।

‘पार्टीभित्र नीतिको प्रश्नमा कुनै विवाद छैन। हामी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर हिँडेका छौँ । यही स्थिर नीति र राष्ट्रवादी अडानका साथ मुलुकलाई नै नेतृत्व गर्न सक्ने क्षमता वर्तमान अध्यक्ष केपी शर्मा ओलीमा रहेको छ’, उहाँले भन्नुभयो, “त्यस अर्थमा हामी मूल नेतृत्वलाई सघाउने गरी सामूहिक नेतृत्वको प्रणालीमा अघि बढ्नेछौँ। बाहिर चर्चामा आए जस्तो प्रतिस्पर्धा गर्न पाइँदैन या चुनाव हुँदैमा पार्टीमा समस्या आउँछ भन्ने कुरा यथार्थ होइन।’

एमालेको महाधिवेशनमा आयोजक र निर्वाचित गरी करिब दुई हजार ४००  प्रतिनिधि रहनेछन् । यही मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।