नेपालको राजनीतिक इतिहासमा केपी शर्मा ओलीको नाम नै एउटा अति महत्त्वपूर्ण अध्याय हो। २०८२ पुस ३ गते, नेकपा एमालेको तेस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा पुनः निर्वाचित भएका छन्- केपी ओली। उनको यो विजयपश्चात् अध्यक्ष ओलीको राजनीतिक यात्राले नयाँ मोड लिएको छ। यो निर्वाचन केवल पार्टी अध्यक्षको हैसियतले होइन, बरु समग्र रूपमा नेपालको राजनीतिक दिशा निर्धारण गर्ने अवसरको रूपमा देखिन्छ। विशेष गरी युवा वर्गको असन्तुष्टिका नाममा आयोजित प्रदर्शन, ध्वंस, विनाश र जनधनको नोक्सानजस्ता सन्दर्भ र भू राजनीतिक दबाबको जटिल परिवेशमा, उनको नेतृत्वले देशलाई कुन मार्गमा लैजान्छ भन्ने विषय समर्थक र विपक्षी सबैको चासो बनेको छ।
ओलीको राजनीतिक यात्रा: दृढताको प्रतीक
केपी शर्मा ओली राजनीति सङ्घर्ष र दृढताको एक लामो दस्ताबेज हो। ओलीको राजनीतिक पदयात्रा विद्रोह र जेल जीवनबाट सुरु भएर चार पटक प्रधानमन्त्रीको सम्मान प्राप्त गरेसम्म पुगेको छ। एमालेको नेतृत्वमा लगातार तेस्रो पटक अध्यक्ष निर्वाचित भएर उनले पार्टीभित्र आफ्नो दृढ पकड र समर्थनको परिचय दिएका छन्। तर ओलीको नेतृत्व केवल सङ्ख्यामा मात्र सीमित छैन। ओलीको एक विशिष्ट राजनीतिक शैली रहेको छ, जसलाई ओलीपन भनेर पनि चिन्न सकिन्छ। जसले कार्यनीतिक र रणनीतिक कुशलता, राष्ट्रवादी दृष्टिकोण र विकासवादी अवधारणा एवं दृढतापूर्वक फैसला गर्ने क्षमतालाई जनाउँछ भन्दा अत्युक्ति नहोला।
नेपालको भू-राजनीतिक चुनौतीहरू
नेपालको स्थिति विश्वकै सबैभन्दा जटिल भू-राजनीतिक क्षेत्रको केन्द्रमा रहेको छ। भौगोलिक रूपमा ठुला दुई छिमेकी राष्ट्रहरू भारत र चीनबीचको सन्तुलन कूटनीति नेपाली राजनीतिक नेतृत्वको सबैभन्दा ठूलो परीक्षा हो । अध्यक्ष ओलीले आफ्नो प्रधानमन्त्रीकलामा यो सन्तुलन कायम राख्दै राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिने जोडदार प्रयास गरेका थिए। भिन्न-भिन्न राजनीतिक परिपाटी अँगालेका दुई छिमेकी मुलुकहरू नेपालका लागि समान हुन् र उनीहरूका लागि नेपाल पनि समान हो भन्ने पुष्टि गर्नु ओलीको प्रमुख ध्येय देखिन्थ्यो। राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चहरूमा ओलीले यही सन्दर्भलाई जोड दिने गरेका थिए । देशहरू आकारमा साना ठुला हु नसक्लान् तर सार्वभौमसत्ता सबैको समान हुन्छ, कसैको अग्लो र कसैको होचो कहिल्यै हुन सक्दैन भन्ने उनको स्पष्ट दृष्टिकोण थियो। अहिलेको ओलीको विजयलाई प्रतिनिधिहरू मार्फत एमालेजनक उनको यो दृष्टिकोणप्रतिको दह्रो विश्वासको प्रकटीकरण हो भन्न सकिन्छ।

अहिलेको अवस्था विगतको भन्दा बढी जटिल देखिन्छ। नेपालको आन्तरिक राजनीतिक अस्थिरता, अनिश्चित नै भए पनि साना पार्टीहरूको चहलपहल आदि कारणले देशले स्पष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति अपनाउन कठिनाइ सिर्जना गरेको छ। यस्तो अवस्थामा केपी ओलीको पार्टी नेतृत्वको तेस्रो कार्यकाल सुरु भएको छ। ओलीले विगतका पद चापहरू हेर्दै, भविष्यको स्पष्ट रेखा कोर्दै वर्तमानमा पाइला चाल्नु पर्ने अवस्था छ।
आन्तरिक कलहले राजनीतिक पार्टीलाई मात्र हैन देशको समग्र पक्षलाई कमजोर बनाइदिन्छ ।
ओलीले आफ्नो महाधिवेशन उद्घाटनको सम्बोधनमा एकताको सन्देशमाथि जोड दिएर यसै आवश्यकतालाई इङ्गित गरेका थिए । अहिले पार्टीभित्रको एकतालाई मजबुत त पार्नु नै छ त्यसका साथसाथै गणतन्त्रप्रति प्रतिबद्ध र राष्ट्रको समृद्धि एवं जनताको सुखका लागि आतुर राजनीतिक शक्तिहरूलाई एउटै बाटोका हिँडाउन आवश्यकता छ ।
यसको अगुवाई एमालेको अध्यक्षका नाताले केपी ओलीले गर्नुपर्ने अवस्था छ । त्यस्तै अहिले नयाँ पुस्तासमेतको भावना बनेको सुशासन, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका सन्दर्भहरू एमालेले पहिलेदेखि उठाउँदै र व्यवहारमा उतार्ने प्रयास गर्दै आएको भए पनि अब त्यतिले नपुग्ने देखिन्छ । यी विषयहरूलाई पनि एमालेले अझ परिस्कृत, अझ स्पष्ट, अझ दृढ भएर सुदृढ नेतृत्व प्रदान गर्नुपर्दछ, जसरी राष्ट्रियताको पक्षमा एमालेले एकल नेतृत्व गरिरहेको देखिन्छ त्यसरी नै देखिने गरी।
अध्यक्ष ओलीका नयाँ कार्यनीतिका आधार स्तम्भहरू
यस जटिल परिवेशमा ओलीले आफ्नो नयाँ कार्यकालमा केन्द्रित हुनुपर्ने रणनीतिक आधारस्तम्भहरू निम्नानुसार हुन सक्छन्
आन्तरिक एकता र समझयुक्त नेतृत्व
अध्यक्ष पदको चुनावमा ओलीले ठूलो अन्तरले विजय हासिल गरे पनि, पार्टीभित्र विभिन्न विचार रहेका हुन सक्छन् । ओलीले आफ्नो विजयी पक्षको हित मात्र होइन, समग्र पार्टीको हितलाई प्राथमिकता दिनुपर्नेछ। पूर्व प्रतिस्पर्धी र पराजित साथीहरूलाई समेट्ने कूटनीति अपनाउनु आवश्यक छ। यसले पार्टीभित्र र बाहिर पार्टीप्रति अझ आकर्षण बढाउने निश्चित देखिन्छ । यसले देशलाई सकारात्मक योगदान दिने काममा सहजता सिर्जना गर्न सक्छ।
संवैधानिक मूल्य र लोकतन्त्रको संरक्षण
अध्यक्ष ओलीले आफ्नो पार्टी अधिवेशन उद्घाटन सम्बोधनमा संविधान र लोकतन्त्रलाई हमलाबाट बचाउने प्रतिबद्धता व्यक्त गरेका थिए, यो केवल उनले व्यक्त गरेको शब्द मात्र हुन सक्दैन, यो ओलीको दृढ प्रतिज्ञा हो। संवैधानिक संस्थाहरूको स्वायत्तता र सम्मान, न्यायपालिकाको स्वतन्त्रता र मानव अधिकारको संरक्षणमा पनि चनाखो हुनु छ। गलत मनसाय र धारणाहरूले खेल्ने अवसर पाउनु हुँदैन। उनी आफैँले भनेका छन्- मैले अहिलेसम्म मानव अधिकारको उल्लंघन गरेको छैन। अब यसलाई कार्यशैलीमा अझ प्रत्यक्ष रूपमा झल्काउन आवश्यक छ।

आर्थिक विकासको राष्ट्रवादी मोडेल
अध्यक्ष ओलीको राष्ट्रवादी छवि उनको राजनीतिक पहिचानको मुख्य आधार हो, तर राष्ट्रवाद केवल भाषण र जनता ब्युँझाउने नारा मात्र हुनु हुँदैन। यसलाई आर्थिक स्वावलम्बनसँग जोड्नुपर्छ। विदेशी लगानी र सहायतामा निर्भरता कम गर्दै नेपाली पूँजी र उद्यमशीलतालाई प्रोत्साहन, उर्जा आत्मनिर्भरता र पर्यटनजस्ता स्वदेशी सम्भावनाहरू विकास गर्ने कार्यक्रमहरू प्राथमिकतामा राखिनुपर्छ। यसबाट मात्र युवाको रोजगारी सिर्जना हुनेछ र गलत मनसाय बोकेर चलखेल गर्ने देशी विदेशी शक्तिहरूको इच्छामा मात्र देश चल्ने अवस्थाबाट मुक्त हुनेछ। युवाहरूमाझ देशमा केही भएको छैन, आशलाग्दा कुराहरू केही छैनन् भनेर भ्रमको खेती लगाउनेहरूका बाटा बन्द हुनेछन्।
सामना गर्नुपर्ने विशिष्ट चुनौतीहरू
पार्टी एकताको प्रश्न
अध्यक्ष ओलीले पार्टीभित्र भिन्न मत जाहेर गर्नेहरू र तिनका मतलाई कसरी व्यवस्थापन गर्छन् ? उनको दृढ स्वभाव, दूरदर्शी दृष्टिकोण र कुशल नेतृत्व एवं पार्टी हितप्रतिको अविचलित धारणाबीचको सन्तुलन महत्त्वपूर्ण हुनेछ।
युवा आकाङ्क्षासँग जोड्ने
नयाँ पुस्ताको आवाज र आकाङ्क्षालाई पुरानो संरचनाभित्र कसरी स्थान दिने ? यो ओलीको राजनीतिक समयसीमा बढाउने मुख्य कुंजी हुनसक्छ। अबका आवश्यकताका रूपमा पार्टीभित्र कायम भएको युवाहरूको भौतिक उपस्थितिलाई मार्गदर्शन गर्न, चेतना, विश्वास र जाँगरलाई सिङ्गो पार्टीमा जीवन्त तुल्याउन आवश्यक छ। यसका लागि अध्यक्ष ओलीको जोश, जाँगर, चेतना, दृढता र इच्छाशक्ति आदिलाई कमजोर हुने छुट आगामी दिनमा पनि हुनुहुँदैन।
अर्थतन्त्रलाई केन्द्रमा राख्ने
राजनीतिक वादविवादलाई सन्तुलनमा राखेर आर्थिक विकासलाई राष्ट्रिय एजेन्डा बनाउनु पर्नेछ। यसका लागि व्यापक सहमति आवश्यक छ। विरोधका स्वरहरूलाई सुनेर जायजलाई उचित सम्मान दिने तर राष्ट्र, जनता र पार्टी हितविपरीत आउने गलत दृष्टिकोण र मनसायलाई दृढतापूर्वक पन्छाउने, आर्थिक विकासका अल्पकालीन र दीर्घकालीन कार्यक्रमहरूलाई सुखी नेपाली र समृद्ध नेपालको अभियानका मुख्य एजेन्डाका रूपमा स्थापित गर्ने कुराहरू महत्त्वपूर्ण छन् ।
निष्कर्ष: इतिहासको अवसर
केपी शर्मा ओलीको यो तेस्रो अध्यक्षकाल उहाँको व्यक्तिगत राजनीतिक यात्रामात्र होइन, बरु समग्र नेपाली राजनीतिको एउटा निर्णायक मोड हुन सक्छ। ओली अनुभवी, दृढ र राष्ट्रवादी नेताका रूपमा परिचित छन्। अहिलेको जटिल समयले उनलाई एक समावेशी, दूरदर्शी र संविधानप्रति समर्पित राष्ट्रनिर्माताको रूपमा स्थापित हुन आह्वान गर्दछ। ओलीले ‘एक र एक मिलेर मात्र ११ बन्ने’ भनेर एकताको आह्वान गरेका थिए, यदि उनी यही सिद्धान्तलाई पार्टीभित्र, संसद्भित्र र समग्र राष्ट्रभित्र लागू गर्न सफल भए, पराजित सहयोगीहरूलाई समेटेर अगाडि बढ्न सके र राष्ट्रवादलाई आर्थिक सशक्तिकरणसँग जोड्न सके भने, उनको यो कार्यकाल नेपालको इतिहासमा सुनौला अक्षरले अवश्य लेखिने छ। अन्यथा, देश, जनता र पार्टीको विश्वास र अपेक्षामाथि गहिरो चोट लाग्नेछ। निष्कर्षमा भन्नुपर्दा, अब अध्यक्ष ओलीको समयसापेक्ष विचार, कार्यशैली, दृढ मानसिकता, दूरदृष्टिकोण र इच्छाशक्तिले देश, जनता र पार्टीको नेतृत्व गर्नुपर्नेछ । निस्सङ्कोच रूपमा भन्न सकिन्छ- नेपाल र नेपालीको भविष्य यसैमा निर्भर रहेको छ। नेपालीहरूले विनापूर्वाग्रह उनलाई साथदिने समय आएको छ।





प्रतिक्रिया