काठमाडौं-तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको आयोगमा उपस्थित भएर बयान पेश गर्नुभएको छ। सोमबार भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको छानविन आयोग समितिलाई लिखित बयान दिनुभएको हो।
सुशासनका लागि जेनजी समूहले गरेको आन्दोलन शान्तिपूर्ण हुने अपेक्षा गरिएकोमा घुसपैठ भएर हिंसा भड्किएको लेखकको भनाइ छ । आन्दोलनकारीका मागहरू जायज भए पनि लोकतन्त्रविरोधी तत्वहरूले आन्दोलनलाई ‘हाइज्याक’ गरेको लेखकले बताउनुभयो ।
लेखकले आयोगलाई बुझाएको जवाफमा गृहमन्त्रीले नीतिगत निर्देशन मात्र दिने र अपरेसनल कमान्ड सुरक्षा अधिकारीकै हातमा हुने भन्दै गोली चलाउने वा बल प्रयोग गर्ने आदेश आफूले नदिएको स्पष्ट पार्नुभयो।
उहाँले जेनजि पुस्ताले शान्तिपूर्ण आन्दोलन गर्ने अनुमति लिएकोबारे सुरक्षा समितिको बैठकमा बल प्रयोग गर्ने कुनै निर्णय नभएको उनले आयोगमा बुझाएको लिखित दस्तावेजमा उल्लेख छ।
‘सुरक्षा निकायलाई त्यस दिन मैले गृहमन्त्रीको हैसियतले प्रष्ट रुपमा दुई तीन कुरा भनेको थिएँ । पहिलो, कुनै हताहति (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् । यसबारेमा सचेत रहनु होला, सावधानी अपनाउनु होला । दोस्रो, समन्वयात्मक रुपमा शान्ति सुरक्षाको उचित प्रवन्ध मिलाउनु होला । तेस्रो, यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्व विहीन हुन सक्छ । प्रदर्शनमा घुसपैठ पनि हुन सक्छ, शर्कता अपनाउनु होला । मैले बैठकमा दिएको निर्देशनको सार यति मात्रै हो,’उहाँले भन्नुभयो।
राज्यका प्रमुख अङ्गहरूमाथिको आक्रमणलाई उहाँले लोकतन्त्र सिध्याउने सुनियोजित षड्यन्त्रको संज्ञा दिनुभएको छ। घटनामा युवाहरूको ज्यान गएपछि आफू मर्माहत भएर नैतिकताको आधारमा तत्काल राजीनामा दिएको उहाँले स्मरण गराउनुभएको छ।





प्रतिक्रिया