अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं तराई मधेस द्रुतमार्गको करिब आधा काम सकियो : प्रधानमन्त्री कार्कीद्वारा निरीक्षण

काठमाडौं तराई मधेस द्रुतमार्गको करिब आधा काम सकियो : प्रधानमन्त्री कार्कीद्वारा निरीक्षण


काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई मधेशको द्रुतमार्ग निरीक्षण गर्नु भएको छ । सडक निर्माण कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उहाँले स्थानीयका सरोकारलाई गम्भीर रूपमा लिई समाधान खोज्न निर्देशन दिनुभयो ।
विकास निर्माणमा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुने उनको भनाइ छ ।

कार्कीले भन्नुभयो, ‘स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिइ समाधान खोज्नुपर्छ । आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ । उहाँहरूको विश्वासमा आधात नपुग्ने गरी हाम्रा विकास निर्माण अघि बढाउनुपर्छ ।’
प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको प्रगति, चुनौतीलगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराउनुभयो ।

निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्रमन्त्री, विभिन्न मन्त्रालयका सचिव सहभागी थिए । कुल ७०।९७७ किमी लम्बाइको उक्त आयोजनाको भौतिक प्रगति हाल करिब ४५ प्रतिशतको हाराहारीमा पुगेको छ ।

द्रूतमार्गअन्तर्गत ८७ वटाभन्दा बढी पुल निर्माण गर्नुपर्ने छ । तीमध्ये केही विशिष्ट प्रकृतिका ८२ मिटरसम्म अग्ला पुल छन् । आयोजनाअन्तर्गतका ७ वटा सुरुङ छन् । अग्ला पुल निर्माणको अन्तिम चरणमा पुगिसकेकाले आयोजना निर्धारित समय २०८३ चैत मसान्त र प्रारम्भिक अनुमानित लागत २ खर्ब १३ अर्बभित्रै निर्माण सम्पन्न गर्ने सेनाले जनाएको छ ।

यो काठमाडौं उपत्यकासँग मध्यतराईको सीधा सम्पर्क जोड्ने छोटो दूरीको राजमार्ग हुनेछ । निर्माणपछि तराईबाट काठमाडौं ल्याइने सामान ढुवानीमा ठूलो मात्रामा लागत र समय घट्ने तथा मुलुकको आर्थिक विकासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ ।