अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा ५ मा रास्वपा सुरुवाती चरणमै रक्षात्मक,एमाले आक्रामक

झापा ५ मा रास्वपा सुरुवाती चरणमै रक्षात्मक,एमाले आक्रामक


झापा- झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा निर्वाचनको माहोल सुरु हुँदै गर्दा यही क्षेत्रमा उम्मेद्वारी दिएका बालेन्द्र साह अहिले रक्षात्मक अवस्थामा पुगेका देखिन्छन्। स्वतन्त्र पहिचान र नयाँ राजनीतिक धार बोकेको दाबी गरिए पनि संगठनात्मक कमजोरी, स्थानीय तहसम्म बलियो संरचना नहुनु र सर्वसाधारणसँग घुलमिल हुन नसक्ने स्वभावले उनको अभियान कमजोर बन्दै गएको विश्लेषण भइरहेको छ। जनस्तरमा उठ्ने प्रश्नबाट टाढा रहन खोज्ने, प्रत्यक्ष बहस र संवादमा सक्रिय नदेखिने बानीले पनि उनीमाथि विश्वासको संकट पैदा गरेको छ। यसका कारण बालेन्द्र साह मात्र होइन, उनलाई समर्थन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० समेत यस क्षेत्रमा रक्षात्मक भूमिकामा सीमित देखिएको छ।

यसको विपरीत, यही क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उम्मेद्वारीले चुनावी प्रतिस्पर्धालाई एकतर्फी बनाउँदै लगेको संकेत देखिन्छ। लामो राजनीतिक अनुभव, राष्ट्रिय स्तरको उँचो छवि र निर्णायक नेतृत्व क्षमताका कारण ओलीको उपस्थितिले एमाले कार्यकर्तामा उत्साह थपेको छ। झापा एमालेको परम्परागत आधार क्षेत्र भएकाले यहाँ पार्टीको संगठन चुस्त र परिचालित देखिन्छ। टोल–टोलमा परिचालन भएका कार्यकर्ता, नियमित भेटघाट, घरदैलो अभियान र चुनावी सभा–सम्मेलनले एमालेको पकड मजबुत बनाएको छ।

विकासको सवालमा पनि ओलीले अघि सारेका पूर्वाधार, सडक, ऊर्जा र राष्ट्रिय गौरवका आयोजनाहरू मतदातामाझ प्रभावकारी रूपमा प्रस्तुत भइरहेका छन्। “काम गरेर देखाएको नेतृत्व” भन्ने सन्देश एमालेको मुख्य प्रचार नाराजस्तै बनेको छ। डिजिटल माध्यममा पनि एमाले आक्रामक देखिएको छ। सामाजिक सञ्जाल, भिडियो सन्देश, र अनलाइन प्रचारसँगै भौतिक रूपमा समेत पोस्टर, ब्यानर, पर्चा र प्रत्यक्ष भेटघाट तीव्र पारिएको छ।

समग्रमा, झापा क्षेत्र नं ५ मा हालको राजनीतिक चित्र हेर्दा बालेन्द्र साह र रास्वपा दबाबमा पर्दै गएको र एमाले स्पष्ट रूपमा आक्रामक तथा बलियो स्थितिमा रहेको देखिन्छ। यसका साथै गत निर्वाचनमा प्रतिष्पर्धा गरेका सुरेश पोखरेललाई पन्छाएर नयाँ उम्मेद्वार ल्याएपछि यसै पनि झापा ५ को रास्वपाको स्थानीय कमिटी उम्मेद्वार र पार्टी नेतृत्वसँग रुष्ट रहेको छ ।