बागलुङ- युवा नेता हिरा केसीको निर्वाचनका गतिविधि सञ्चालन गर्नका लागि नेकपा एमालेले बागलुङ क्षेत्र नंं १ को निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । बागलुङ नगरपालिका वडा नं २ को धौलागिरि चोकमा आइतबार सम्पर्क कार्यालय स्थापना गरेको हो ।
कार्यालयको उद्घाटन गर्दै एमाले क्षेत्र नं १ का उमेदवार हिराबहादुर केसीले अबको निर्वाचनबाट एमाले शक्तिशाली भएर आउने बताउनुभयो । ‘देश अनेक समस्याले जकडिएको छ । त्यसबाट मुक्ति दिनका लागि एमाले थप बलियो हुन जरुरी छ’केसीले भन्नुभयो , ‘त्यसका लागि एमालेले यो निर्वाचनमा बहुमत ल्याउनु पर्छ । जनतालाई हामीले यो कुरा बुझाउनु पर्दछ ।’ २०८४ मा हुनुपर्ने निर्वाचन किन २०८२ मा किन गर्नुपर्यो भन्ने विषयमा जनतालाई स्पष्टसँग भन्नुपर्ने उहाँको धारणा थियो । उहाँले अबको निर्वाचनको परिणाम एमालेको पक्षमा नआए देशले हार्ने बताउनुभयो ।
जनताको विकास र समृद्दिको एजेण्डा हार्ने अवस्था आयो भने दुर्भाग्य हुने भन्दै एमालेले बोकेको एजेण्डालाई जिताउन सबै कार्यकर्ता एक भएर लाग्नुपर्ने पनि केसीको धारणा छ । उहाँले फरक सन्दर्भ र दिर्घकालिन प्रभाव बुझेर सूर्य चिन्हमा मतदान गर्ने बाटो आम मतदातासँग आग्रह गर्नुभएको छ ।
कार्यालय उद्घाटनमा केन्द्रीय सदस्यहरु मनकुमारी केसी, सूर्य पाठक, पूर्व अध्यक्ष इन्द्रलाल सापकोटा लगायतका नेता तथा कार्यकर्ता सहभागि थिए । यतिबेला राजनीतिक दलले निर्वाचन प्रचारप्रसार अभियानअन्र्तगत घरदैलो अभियान गरिरहेका छन् । हाल मतदाताको घरघरमा पुगेर उनीहरुले आफ्ना एजेण्डाहरु प्रस्तुत गर्दै आएका छन् । निर्वाचन आयोगले आगामी फागुन ४ गतेपछि मात्र आमसभा लगायतका निर्वाचन कार्यक्रम गर्न पाउने व्यवस्था गरेको छ । त्यसअघि सबै दलले घरदैलो र मतदाता भेट मात्रै गर्दै आएका छन् ।






प्रतिक्रिया