भोजपुर-नेकपा एमालेका सचिव एवं भोजपुरका उम्मेदवार शेरधन राईले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। भोजपुरका उम्मेदवार राईले विकास निर्माणसम्मका एजेण्डा समेटेर चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो।
पूर्वमुख्यमन्त्री र सञ्चारमन्त्रीसमेत रहेका राईले आफूले विगतमा सुरू गरेका बहुवर्षीय योजनाहरूलाई पूर्णता दिन र भोजपुरको आवाजलाई केन्द्रमा बुलन्द पार्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो।

जिल्लाको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा राईको जोड छ। उम्मेदवार राईले राईले सडक सञ्जाललाई पहिलो प्राथमिकता दिनुभएको छ। मध्यपहाडी लोकमार्गको चखेवा-दिक्तेल खण्डलाई अविलम्ब कालोपत्रे गर्ने, कोशी राजमार्गको वैकल्पिक मार्गका रूपमा चतरा-चुहार-घोडेटार-भोजपुर सडक निर्माण गर्ने र जिल्लाका प्रमुख ग्रामीण सडकलाई कालोपत्रे गर्ने योजना अघि सार्नुभएको छ। साथै नयाँ पक्की पुलहरूको निर्माणका लागि पहल गर्ने प्रतिबद्धता उहाँको छ।
शिक्षक तथा सरोकारवालाहरूसँग भएको विगतका सम्झौताहरूको आधारमा नयाँ संघीय शिक्षा/विद्यालय शिक्षा ऐन जारी गर्दै शिक्षाको गुणस्तरमा एकरुपता ल्याउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता राईकाे छ।

मध्यपहाडी राजमार्गसँग जोडिएका मुख्य बजार केन्द्रहरू र सबै पालिका केन्द्रमा रहेका मुख्य बजारहरूको ढल निकास तथा व्यवस्थापनसहित व्यवस्थित बजारको रूपमा विकास गर्ने योजना राईकाे छ। छरपष्ट र जोखिमयुक्त बस्तीहरूको व्यवस्थापन गर्दै एकीकृत बस्ती निर्माण तथा व्यवस्थापनका लागि आवश्यक पहल गर्ने राईले उल्लेख गर्नुभएकाे छ।











प्रतिक्रिया