गुल्मी-नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार गोकर्ण विष्टले नवनिर्वाचित गोविन्द पन्थीलाई बधाई दिनुभएकाे छ।
निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उपाध्यक्ष विष्टले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी उम्मेदवार पन्थीलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना दिनुभएकाे हाे।
निर्वाचनमा पराजित भए पनि उपाध्यक्ष विष्टले आफू सधैं जनताको साथमा रहने प्रतिबद्धता जनाउनुभएकाे छ। चुनावी हारलाई स्वभाविक प्रक्रियाको रूपमा लिँदै उपाध्यक्ष विष्टले लेख्नुभएकाे छ, ‘एउटा निर्वाचनको हार वा जीतले समाज परिवर्तनको लामो यात्रालाई खासै फरक पार्दैन। आर्थिक तथा सामाजिक रूपान्तरण, सामाजिक न्याय र राष्ट्र तथा जनताको हितमा अझ दृढतापूर्वक लागिरहनेछु।’
अपेक्षाकृत नतिजा नआएको भए पनि नेता विष्टले पार्टी पंक्तिलाई विचलित नहुन आग्रह गर्नुभएकाे छ। उपाध्यक्ष विष्टले सम्पूर्ण कार्यकर्तालाई धैर्यता र उच्च मनोबलका साथ अघि बढिरहन अपिल गर्नुभएकाे छ।
उपाध्यक्ष विष्टले आफ्नो चुनावी अभियानमा अहोरात्र खट्ने सहयोद्धा र सद्भाव राख्ने मतदातालाई धन्यवाद दिनुभएकाे छ। साथै, निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भूमिका खेल्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीहरूप्रति पनि उहाँले आभार प्रकट गर्नुभएकाे छ।
गुल्मी २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थीले १६ हजार ९६७ मतसहित निर्वाचित हुनुभएकाे छ। निकटतमा प्रतिस्पर्धी एमालेका उम्मेदवार गोकर्ण बिष्टले १६ हजार ४०६ मत ल्याएका छन्।
नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १४ हजार ४३४ मत प्राप्त गरेका छन् ।






प्रतिक्रिया