उदयपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालक एक युवाको मृत्यु भएको छ। मदनभण्डारी लोकमार्गको कटारी–गाईघाट सडकखण्डअन्तर्गत उदयपुरगढी गाउँपालिका–६ स्थित नेपालटारमा आज बिहान करिब १०:४५ बजे टिपरले मोटरसाकइललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, गाईघाटबाट कटारीतर्फ आउँदै गरेको बागमति प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले ठक्कर ठक्कर दिएको थियो।
मोटरसाइकलचालक खोटाङको बराहपोखरी गाउँपालिका–५ का करिब ३० वर्षीय भूपाल राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। उपचारकै क्रममा राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) निरञ्जन थापाका अनुसार दुर्घटनामा संलग्न दुवै सवारीसाधन अस्थायी प्रहरी पोस्ट नेपालटारको नियन्त्रणमा रहेको छ।
दुर्घटनापछि फरार रहेका टिपरचालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया