काठमाडौं-नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामालाई ‘राजनीतिक स्टन्ट’ र ‘फण्डा’को संज्ञा दिएका छन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति थापाले राजीनामा दिएको समाचार सार्वजनिक भएपछि एमाले नेता थापाले फेसबुकमार्फत् प्रतिक्रिया दिँदै त्यसलाई ‘स्टन्ट’, ‘फण्डा’ र ‘मिलोमतो’को संज्ञा दिएका हुन् ।
एमाले नेता थापाले राजीनामाको आधिकारिकतामाथि नै प्रश्न उठाउँदै भनेका छन्- ‘बचपनापनको पराकाष्ठा’ । नेता थापाले लेखेका छन्, ‘राजीनामा दिनेले दिएको भनेका छैनन्, बुझ्नेले हो पनि भनेको पाइँदैन। राजीनामाको औपचारिक पत्रसमेत गायब छ। यो त खाली मिलोमतो र फण्डा जस्तो मात्रै देखिन्छ।’
७८ वर्ष लामो इतिहास बोकेको कांग्रेस जस्तो पुरानो पार्टीमा यस्तो ‘अदृश्य’ खेल हुनु दुखद रहेको नेता थापाको तर्क छ। नेता थापाले राजीनामा सत्य हो भने कांग्रेस केन्द्रीय कार्यालय वा स्वयम् सभापतिले आधिकारिक रूपमा सार्वजनिक गर्नुपर्ने चुनौती दिएका छन्।
नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा कडा शब्दमा लेखेका छन्, ‘मोही माग्ने ढुंग्रो लुकाउने यो तरिका वाहियात भयो। राजीनामा दिने वा नदिने भन्ने कुरा सम्बन्धित व्यक्तिको ४८ वर्षे जीवन र जवानीको निर्णय होला, त्यसमा हामीलाई चासो छैन। तर, यसरी देशलाई गुमराहमा राख्ने काम हुनुहुँदैन।’
पछिल्लो समय निर्वाचनमा अपेक्षित नतिजा नआएपछि कांग्रेस सभापति थापाले नैतिकताका आधारमा राजीनामा दिएको चर्चा चले पनि पार्टीले यसबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले यसबारे ठोस निर्णय लिने बताइएको छ।







प्रतिक्रिया